शीर्षकहरू

विद्युत विक्री बन्द भएसँगै पाँचथप पावर नोक्सानीमा

विद्युत विक्री बन्द भएसँगै पाँचथप पावर नोक्सानीमा

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेड ३ करोड १ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले गत चौथो त्रैमाससम्मको तुलनामा भने खुद नोक्सानी घटाएको हो । 

गत चौथो त्रैमाससम्म कम्पनी ८ करोड ३८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । २०८० सालको असार महिनामा आएको बाढीले आयोजनामा क्षति प¥याएकाले आयोजनाको पुनः निर्माण कार्य भैरहेकाले पहिलो त्रैमाससम्म विद्युत विक्री आम्दानी हुन नसकेको जानकारी कम्पनीले दिएको छ । 

असोज १५ गतेबाट आयोजनको विद्युत उत्पादन गर्न सुरु गर्ने भनिएकोमा असोज ११ र १२ गतेको बर्षाले हेवा खोलामा आएको बाढीका कारण आयोजनामा पुनः क्षति पुगेको भनाई कम्पनीको छ । दोस्रो पटकको बाढीका कारण आयोजनामा ५५ करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । आयोजना पुनः निर्माणका लागि करिब ३ महिना लाग्ने जानकारी कम्पनीले दिएको छ ।

पहिलो त्रैमाससम्म कम्पनीले वित्तीय खर्चका रुपमा ४० लाख ७४ हजार रुपैयाँ खर्चिएको छ । कर्मचारी खर्च २२ लाख रुपैयाँभन्दा बढी र अन्य सञ्चालन खर्च करिब २३ लाख रुपैयाँ भएको जानकारी कम्पनीले दिएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट १५ करोड ७३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । सो अवधिसम्म कम्पनीले ८ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । 

९६ करोड २५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने १ करोड १३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । चालू दायित्वमा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा उल्लेख छ । खुद नोक्सानीमा रहेको कम्पनी ३ रुपैयाँ १३ पैसा प्रतिशेयर नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ९२ पैसा छ ।