शीर्षकहरू

आशा लघुवित्तले १५ प्रतिशत लाभांश पारितका लागि मंसिर ७ गते बोलायो साधारण सभा

आशा लघुवित्तले १५ प्रतिशत लाभांश पारितका लागि मंसिर ७ गते बोलायो साधारण सभा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कात्तिक ८ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल उग्रचण्डी बनेपा, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे आठौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । प्रस्तावित कुल १५ प्रतिशत लाभांशलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश वितरण गर्न लागेको हो । अघिल्लो आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट पनि कम्पनीले १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उल्लेखित प्रस्तावहरु सागै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव समेत सभाका लागि तय भएको छ । यसका लागि सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक २४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।