शीर्षकहरू

तीन महिनामा ४ खर्ब बराबरको सामान तथा बस्तु आयात

तीन महिनामा ४ खर्ब बराबरको सामान तथा बस्तु आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब रूपैयाँ बराबरको सामान तथा बस्तु आयात भएको छ। बुधबार  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तसम्ममा ३ खर्ब ९० अर्ब ७५ करोड रूपैयाँ बराबरको सामान तथा बस्तु आयात भएको हो । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले  कम हो।

गत आर्थिक वर्षको सोही अवधिमा भने ४ खर्ब ७ अर्ब ७५ करोड रूपैयाँ बराबरको आयात भएको थियो। चालु आर्थिक वर्षको तीन महिनामा निर्यात पनि ६.११ प्रतिशतले घटेको छ। चालू आर्थिक वर्षको तीन महिनामा नेपालबाट ३८ अर्ब ३७ करोड रूपैयाँ बराबरको निर्यात भएको छ। 

गत आर्थिक वर्षको सोही अवधिमा भने ४० अर्ब ८७ करोड रूपैयाँको निर्यात भएको थियो। यस्तै, समग्र अन्तर्राष्ट्रिय व्यापार करिब १९ अर्बले कमि आएको छ। चालू आर्थिक वर्षको तीन महिनामा कुल ४ खर्ब २९ अर्ब बराबरको व्यापार भएको छ। 

गत आर्थिक वर्षको तीन महिनामा भने ४ खर्ब ४८ अर्ब रूपैयाँ बराबरको व्यापार भएको थियो। तथ्यांकअनुसार अघिल्लो वर्ष तीन महिनामा ३ खर्ब ६६ अर्ब रूपैयाँ बराबरको वस्तु व्यापार घाटा रहेकोमा अहिले ३ खर्ब ५२ अर्ब रूपैयाँ पुगेको छ।

असोज मसान्तसम्म ब्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म नेपालको वैदेशिक व्यापार ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजार रुपैयाँ पुगेको छ ।