शीर्षकहरू

‘सहकारी ठगी गर्ने ६ सय बढीलाई कारबाही गरिएको छ, ५७५ जेलमै छन्’

‘सहकारी ठगी गर्ने ६ सय बढीलाई कारबाही गरिएको छ, ५७५ जेलमै छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारवाही सुरु भएको बताएका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो कार्यकालका १०० दिनको प्रमुख कार्य एवं उपलब्धिबारे सम्बोधन गर्दै उनले हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको बताए ।

जसमध्ये ५ सय ७५ भन्दा बढी त जेलमै रहेको उनले बताए । सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइएको उनको भनाइ थियो ।

'आज यहाँ उभिएर म यो भन्ने ठाउँमा आइपुगेको छु सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारवाहीको दायरामा ल्याएको छ । सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारवाही सुरु भएको छ। हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन् । सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ,' उनले भने ।

भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने बताउँदै उनले यसले सुशासनको प्रणालीका रुपमा गति लिनुपर्ने भनाइ उनको थियो । भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको पनि उनले बताए । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ,' उनले बताए ।

भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको उनको भनाइ थियो । तर संसद्‌बाट विश्वासको मत लिंदै गर्दा आफूले ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीउपर कानुनी कारवाही अघि बढाउछौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारवाही गर्ने छौं’ बताएकोमा सोहीअनुसार सरकार अघि बढिरहेको उनले बताए ।