शीर्षकहरू

शुक्रबारदेखि दोस्रो तिहार फ्लोरा एक्स्पो, ७० लाख कारोबारको लक्ष्य

शुक्रबारदेखि दोस्रो तिहार फ्लोरा एक्स्पो, ७० लाख कारोबारको लक्ष्य

काठमाडौं । आगामी कात्तिक ९ गते शुक्रबारदेखि दोस्रो तिहार फ्लोरा एक्स्पो हुने भएको छ । नर्सरी व्यवसायी संघले 'तिहारको उत्सव, फूलको महोत्सव' नारासहित एक्स्पो आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मेला आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।

गत वर्ष भएको पहिलो तिहार फ्लोरा एक्स्पो २०८० भएको थियो । त्यस सफल कार्यक्रमले थप उत्साहित बनाएको र कृषि क्षेत्रको उत्पादन एंव बजारीकरणका लागि दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले जानकारी दिए ।

नर्सरी व्यवसायको विकास, विस्तार एवम् प्रबर्द्धन गरी स्वच्छ वातावरणसहित आय र रोजगार प्रबर्द्धन गरी देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरुको हक हित र व्यवसायिक क्षमताको अभिवृद्धि गरी व्यवस्थित बनाउन कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।

यस मेलाले आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायीलाई उत्साहित पार्ने संघले जनाएको छ । यस मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवालगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ । यस मेलामा ६५ वटा व्यवसायीक स्टल लगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिश्पर्धाको २ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहने छन् । यस मेलामा ३५ हजार अवलोकनकर्ता अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने संघले बताएको छ ।