शीर्षकहरू

कुलमानलाई हटाउनै चाहेको भए यत्रो समय लाग्दैनथ्यो : ऊर्जामन्त्री खड्का

कुलमानलाई हटाउनै चाहेको भए यत्रो समय लाग्दैनथ्यो : ऊर्जामन्त्री खड्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तारो बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले हटाउन प्रपञ्च रचेको चर्चा छ । विशेषगरी डेडिकेटेड ट्रंकलाइनको विषयमा प्रधानमन्त्री ओली र घिसिङ फरक खेमामा देखिएपछि घिसिङ ऊर्जामन्त्री दिपक खड्काको तारे बनेको चर्चा छ ।

हुन पनि घिसिङ कुनै पनि हालतमा व्यवसायीबाट डेडिकेटेड लाइनको रकम उठाउनु पर्ने पक्षमा हुँदा खड्का व्यवसायीप्रति लचिलो देखिन्छन् । प्रधानमन्त्री ओली व्यवसायीको पक्षमा खुलेरै उभिएका छन् । प्रधानमन्त्रीको विपक्ष उभिएका घिसिङलाई ऊर्जामन्त्री खड्काले पटक-पटक स्पष्टीकरण पनि सोधेका छन् ।

डेडिकेटेड र ट्रंकलाइन विवादमा ६ वटा उद्योगको काटिएका लाइन जोड्ने निर्णयमा फरक मत राखेका नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका ​​​​​​सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई मन्त्री खड्काले यसअघि नै बखास्त गरिसकेकोा  छन् । यसैगरी कार्यकारी निर्देशकलाई घिसिङलाई पनि बर्खास्त गर्ने मन्त्री खड्काको मनसाय भएको मन्त्रालयभित्रकै कर्मचारीहरू बताउँछन् ।

तर, ऊर्जामन्त्री खड्काले भने प्राधिकरणलाई कार्यकारी निर्देशक घिसिङलाई निकाल्ने आफ्नो सोच नभएको बताएका छन् । मन्त्रालयले घिसिङलाई निकाल्नुपर्ने आवश्यकता महशुस नगरेको उनले जिकिर गरे । सरकार गठनको सय दिनको अवसरमा मन्त्रालयले गरेका कामकारबाहीको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निकाल्नै परेको भए यत्रा समय लाग्दैनथ्यो ।' उनले पद सधै स्थायी नहुने बताए । ‘आवश्यकता परे प्रधानमन्त्रीले मलाई अहिले नै हटाउन सक्नुहुन्छ । कर्मचारीको पनि सरुवा हुन सक्छ,’ उनले भने । तर, घिसिङको हकमा मन्त्रालयले त्यस्तो आवश्यकता महशुस नगरेका उनले बताए । 

पत्रकारको प्रश्नको उत्तर दिँदै उनले उक्त कार्यक्रममा उपस्थित घिसिङलाई प्रश्न गरे, 'तपाईले यस्तो महसुश गर्नु भएको छ र ? उहाँले कतै यस्तो खालको मनसाय राखेको सुनेको छैन ।'