शीर्षकहरू

नेपालको बीमा क्षेत्रमा समावेशी हुन सकेन : अध्यक्ष सिलवाल

समावेशी बीमा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु

नेपालको बीमा क्षेत्रमा समावेशी हुन सकेन : अध्यक्ष सिलवाल

काठमाडौं । नेपालको बीमा क्षेत्र समावेशी हुन नसकेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । प्राधिकरण, बीमा कम्पनी, म्युनिख रि फाउन्डेसन तथा माइक्रो इन्स्योरेन्स नेटवर्कको सहकार्यमा काठमाडौंमा सुरु भै रहेको समावेशी बीमा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको बारेमा जानकारी दिन आयोजित प्रेस सम्मेलनमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । 

न्यून आय भएका र जोखिमपूर्ण क्षेत्रमा रहेको नागरिकको लागि बीमा अति आवश्यक छ । तर, तीनै नागरिकमा बीमाको पहुँच पुग्न नसकेको उनले स्वीकारेका छन् । कम्पनीहरूले व्यवसायीक क्षेत्रमा मात्रै केन्द्रित हुँदा बीमा समावेशी हुन नसकेको उनले बताए । नेपालमा पहिलो पटक हुन गै रहेको समावेशी बीमा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा नेपालको बीमालाई समावेशी बनाउनका लागि रणनीति बनाउन सहयोगी हुने बताए । 

सम्मेलनमा नेपाल जीवन बीमा संघका अध्यक्ष पोषक पौडेलले प्रोडक्ट ग्यापका कारण नेपालको बीमा क्षेत्र समावेशी बन्न नसकेको जिकिर गरे । लक्षित वर्गका लागि आवश्यक पर्ने खालका प्रोडक्ट कम्पनीहरूले बनाउन नसकेको पनि उनले बताए । ‘नेपालको बीमा क्षेत्रका दुई खालको ग्याप छ । एउटा चेतना अर्को भनेको विश्वासको,’ उनले भने । नागरिकलाई बीमामा विश्वास जगाउनका लागि कम्पनीहरूले काम गर्नुपर्ने उनले बताए । त्यस्तै वितरण च्यानललाई पनि प्रभावकारी बनाउनु पर्ने उनले बताए । 

चार दिनसम्म चल्ने सम्मेलनमा ४४ वटा मुलुकमा लघुबीमा विज्ञहरूको सहभागी रहनेछ । सम्मेलनमा समावेशी बीमा सम्बन्धी २५ वटा शेसन सञ्चालन हुनेछन् ।