शीर्षकहरू

बिहीबार देखि १७ औँ गोदावरी फूल प्रदर्शनी शुरु

बिहीबार देखि १७ औँ गोदावरी फूल प्रदर्शनी शुरु

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ को आयोजना गर्ने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि” भन्ने नाराको साथ यो वर्षको प्रदर्शनी आयोजना गर्न लागिएको छ । 

प्रदर्शनीमा व्यवसायीक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरु रहने छन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने छ । यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरुमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाति रहने छ । 
मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराइनेछ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा बिधागत उत्कृष्ट हुने नर्सरी र फर्मलाई सिल्ड, नग तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । 

प्रदर्शनी २०८१ कार्तिक ८ देखि ११ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन हुनेछ । ४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायीक कारोबार हुने अपेक्षा गरिएको छ ।

फ्यानले पुष्प व्यवसायको व्यवसायीक बिकास बिस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले २०५१ साल देखि लगातार रुपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ । आगामी बिहीबार बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी बिकास मन्त्री प्रकाश श्रेष्ठले प्रदर्शनीको समुद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।