शीर्षकहरू

१४ बैंकको नाफा बढ्दा ६ वटाको घट्यो

१४ बैंकको नाफा बढ्दा ६ वटाको घट्यो

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा १४ वटा बैंकले नाफा बढाएका छन् । नेपाल राष्ट्र बैँकको तथ्यांक अनुसार २० वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख खुद नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । 

गत आवको समिक्षा अवधिको तुलनामा यो आवमा १४ वटा वाणिज्य बैंकहरू नाफा आर्जन गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे  बैंक, लक्ष्मी–सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, प्रभु बैंक र सानिमा बैंकको नाफा बढेको छ । 

समिक्षा अवधिमा नाफा धेरै आर्जन गर्नेमा कृषि विकास बैंक अग्रपंक्तिमा छ । बैंकले ८८ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ ।  गत आवको सोही अवधिमा बैकले ६१ करोड ५६ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालु आवमा बैकले २७ करोड १४ लाख रुपैयाँले बढी हो । 

नेपाल एसबिआई बैंकले ५३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैकले २७ करोड २९ लाख नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा यो आवको समिक्षा अवधिमा बैंकले २६ करोड नौ लाख रुपैयाँ बढी आर्जन गरेको हो । 

प्रभु बैंकको खुद नाफा २४ करोड ९० लाखले बढेर ९१ करोड ३२ लाख पुगेको छ । सानिमा बैंकको खुद नाफा १७ करोड ७१ लाखले बढेर ६८ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । सिटिजन्स बैंकको खुद नाफा १४ करोड ६६ लाखले बढेर ५८ करोड ९८ लाख र प्राइम बैंकको १३ करोड ८१ लाखले बढेर ९७ करोड ४६ लाख पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १२ करोड १७ लाखले बढेर ६० करोड ६२ लाख र एभरेष्ट बैंकको खुद नाफा ११ करोड २९ लाख रुपैयाँले बढेर ८२ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । नबिल बैंकको नाफा नौ करोड ६३ लाख रुपैयाँले बढेर एक अर्ब ६६ करोड आठ लाख रुपैयाँ पुगेको छ । अन्यको नाफामा सामान्य वृद्धि भएको छ । 

तर, एनआइसी एसिया बैंकको नाफा धेरैले घटेको छ । यो बंैकले चालु आवको दुई महिना अवधिमा ५७ करोड ७५ लाख रुपैयाँमा खम्चिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २२ करोड २९ लाख रुपैयाँले कम हो । ग्लोबल आइएमई बैंकको नाफा १८ करोड ९६ लाख रुपैयाँले घटेको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, कुमारी र नेपाल बैंकको नाफा पनि खुम्चिएको छ ।