शीर्षकहरू

मन्दाकिनी हाइड्रोपावरले बोलायो साधारण सभा, ५.२६ प्रतिशत लाभांशसँगै १२५ प्रतिशत हकप्रद प्रस्ताव

मन्दाकिनी हाइड्रोपावरले बोलायो साधारण सभा, ५.२६ प्रतिशत लाभांशसँगै १२५ प्रतिशत हकप्रद प्रस्ताव

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर ७ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाली चुलो लाजिम्पाट, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्तावलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड ५९ लाख ६८ हजार ६५३ रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । २०७९ साल साउन १७ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको यस कम्पनीले आर्थिक वर्ष ०७८÷७९ सालदेखिनै लाभांश वितरण गर्दै आएको छ । 
उक्त वर्ष ५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको कम्पनीले आर्थिक वर्ष ०७९÷८० को लागि ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस अघिका वर्ष ५ प्रतिशत लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष शून्य दशमल २६ प्रतिशत विन्दुले लाभांश बढाएको हो ।

५ प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा १२५ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पनि कम्पनीले गरेको छ । २ दशमलव ९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्माण गर्ने, डल्फिन पावर प्रालिमा लगानी गर्ने तथा बैंक ऋण भुक्तानी लगाएतका कार्य गर्न कम्पनीले १ बराबर १ दशमलव २५ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।

कम्पनीको पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्नुका साथै हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।