शीर्षकहरू

१० प्रतिशत भन्दा धेरैले बढ्यो शेयर कर्जा, दुई महिना करिब एक खर्ब प्रवाह

१० प्रतिशत भन्दा धेरैले बढ्यो शेयर कर्जा, दुई महिना करिब एक खर्ब प्रवाह

काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो दुई महिनाको अवधिमा सेयर धितो कर्जा अर्थात् मार्जिन प्रकृतिको कर्जा १०.७ प्रतिशतले बढेको छ । केन्द्रीय बैँकको तथ्यांक अनुसार २०८१ भदौसम्ममा ९९ अर्ब ७६ करोड ५० लाख रूपैयाँभन्दा बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको छ । 

गत असार देखि नेपालको शेयर बजार बढी रहेको छ । बजार बढेसँगै शेयर कर्जा लिनेको संख्या पनि बढेको हो । बजार बढेपछि अर्थतन्त्रका अन्य क्षेत्र सुस्त भै रहँदा पनि सेयर बजारमा भने कर्जा प्रवाहको क्रम बढी रहेको छ । केन्द्रीय बैँकको तथ्यांक अनुसार गत असारमा ९ अर्ब ९३ लाख रुपैयाँ मात्रै यस्तो कर्जा प्रवाह भएको थियो । 

२०८० भदौसम्ममा ७६ अर्ब ७८ करोड रुपैयाँ बराबर मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको थियो । २०८० असारको तुलनामा भदौसम्ममा १.८ प्रतिशतले मार्जिन प्रकृतिको कर्जा वृद्धि भएको थियो ।

राष्ट्र बैँकको रिपोर्ट अनुसार गत भदौसम्ममा एक करोड रूपैयाँभन्दा माथिको सेयर धितो कर्जा १७.९ प्रतिशतले बढेको छ । यस्तो कर्जा ६५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा एक करोड रूपैयाँसम्मको सेयर धितो कर्जा ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको थियो ।

यसैगरी ५० लाख रूपैयाँदेखि एक करोडसम्मको सेयर धितो कर्जा ३.२ प्रतिशतले बढेर १२ अर्ब ८१ करोड पुगेको छ । असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ३५ करोड रुपैयाँ पुगेको थियो । २५ लाख रूपैयाँदेखि ५० लाखसम्मको सेयर धितो कर्जा ३ प्रतिशतले घटेर १३ अर्ब ९८ करोड पुगेको छ । असार मसान्तमा यस्तो कर्जा १४ अर्ब ४२ करोड रुपैयाँ थियो । त्यस्तै, २५ लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जा ३.९ प्रतिशतले घटेर ७ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा ७ अर्ब ३१ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैँकका अनुसार असोज २० गते बैंकिङ प्रणालीको कर्जा निक्षेप अनुपात ७८.१५ प्रतिशत छ । बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत राख्नुपर्ने केन्द्रीय बैँकको प्रावधान छ । 

बैंकहरुसँग पर्याप्त मात्रामा तरलता हुनु र बजार पनि बढी रहनुले शेयर कर्जाको माग पनि बढी रहेको शेयर लगानीकर्ता रमेश भट्टराईले बताए ।