शीर्षकहरू

पक्राउ पुर्जी जारीपछि रविको प्रतिक्रिया : सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

पक्राउ पुर्जी जारीपछि रविको प्रतिक्रिया : सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

काठमाडौं । पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कडा प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !!'

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै तस्करले दिएको करोड पर्ने घडी लगाएर आफ्नो हातमा हतकडी लगाउन खोजेको आरोप लगाएका छन् । भ्रष्टाचारीबाट खुल्लम खुल्ला करोडौँ पर्ने जग्गा लिने तर मुद्दा आफूले खेपिदिनुपर्ने भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्–

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? तपाईँ विचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ? तपाईँ  प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिने, मैले  ठगीको आरोप खेपिदिनुपर्ने ? तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुईतिहाइको सरकार जोगाइदिन म बलि चढ्नुपर्ने ?

तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनुपर्ने? यति गरेपछl भाटभटिनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन । तर म कहिले भागेर हिँडिनँ र हिड्दिनँ पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै  भ्रष्टाचारी जोगाउन  तपाईँले  त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभभो । बाचास्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नुभएको थियो । यो मलाई राम्रोसँग थाहा छ । तपाईँको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो।  तपाईँहरुका  दलका  नेता र कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईँहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईँहरुबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौँ । 

ठीक छ,म तपाईहरुको  दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पूरै सघाउने प्रतिवद्धता व्यक्त गर्दछु । नयाँ पुस्तालाई एक-एक गर्दै सक्काउँदै जाने तिमीहरुको कूनियतले तिमीहरुलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ।

शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्,  छिट्टै गर्नेछन् । अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर  मलाई  न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईको सभापतिले कसैलाई ठगेको छैन ।