शीर्षकहरू

रवि पक्राउको हल्लापछि दोहोरियो असोज ६, नेतासहित कार्यकर्ताहरू पार्टी कार्यालयमा भेला हुँदै

रवि पक्राउको हल्लापछि दोहोरियो असोज ६, नेतासहित कार्यकर्ताहरू पार्टी कार्यालयमा भेला हुँदै

काठमाडौं । गत असोज ६ गते सहकारी ठगी प्रकरणमा राष्ट्रिय  सभापति रवि लामिछानेलाई पक्राउ गर्ने हल्ला चल्यो । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र सोही दिन पक्राउ गरी कास्की पुर्‍याउने हल्ला चलेपछि उनले कार्यकर्ता गुहारे । रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा लाग्न थाल्यो । 

सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि लामिछानेलाई पनि गिरफ्तार गरिने सम्भावित खबरले पार्टीभित्र हलचल भयो । लामिछानेले कार्यकर्ताको भिडको बीच तीन दिन पार्टी कार्यालयमा बिताए, राति अबेर मात्रै घर फर्किए । आज पुन: उनलाई पक्राउ गरिने हल्ला चलेसँगै सोही अवस्था दोहोरिएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ पर्न लागेको भन्दै रास्वपाले पार्टी कार्यालयमा कार्यकर्ताहरूको आकस्मिक भेला बोलाएको छ ।  रास्वपाले कार्यकर्तालाई बोलाएको केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले सञ्जालमार्फत् जानकारी गराएकी छन् । उनले भनेकी छन्, 'अत्यन्त जरुरी: काठमाडौँ हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भैदिनुहोला । साथै ७७ जिल्लाबाटै रास्वपा टिम तयारी अवस्थामा बस्नु होला।'

सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय वनस्थली पुगिसकेको र अहिले कार्यकर्ताहरू पनि जम्मा भइरहेको रास्वपाका एक नेताले जानकारी दिएका छन् ।

आज प्रतिनिधिसभामा बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामिछानेलाई पक्राउ गर्न लागिएको बिफ्रिङ गराएका थिए । 

त्यसपछि लामिछानेले प्रचण्ड र अन्य दलको धारणा बुझेकोमा अन्य दलले दोषी भए कारबाही हुनुपर्ने तर प्रतिशोधका रुपमा पक्राउ गरिए त्यसको विरोध गर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए । अन्य दलको धारणापछि लामिछानेले आफू दोषी नभएको दाबी गरेको जानकारी उनले दिए ।

रविमाथि सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम आरोप छ । लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सहारा बहुउद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, साोपाइला बचत तथा ऋण सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा ल्याएको आरोप छ । उक्त कम्पनीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हाल फरार छन् ।

यसअघि उक्त कम्पनीमा साझेदार रहेका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।