शीर्षकहरू

चालु आवको चौथो त्रैमासमा जिडिपीको वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने अनुमान

चालु आवको चौथो त्रैमासमा जिडिपीको वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमासमा नेपालको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर खुम्चिने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकको कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतले मात्रै वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । 

यो त्रैमासिकमा अर्थतन्त्रको वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक भएको कार्यालयले जनाएको छ । यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको वृद्धि, यातायातमा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ उन्मुख भएको हो । 

कार्यालयले तेस्रो त्रैमासमा भने ३.१ ले वृद्धि हुने अनुमान गरेको थियो । त्यस्तै, दोस्रो त्रैमासमा ४.६ र पहिलो त्रैमासमा ४.५ ले वृद्धि हुने अनुमान गरेको थियो । अघिल्लो आवको सोही अवधिमा कार्यालयले ३.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो । आव २०७८/७९ मा ९.४ र आव २०७७/७८ मा ११.२ प्रतिशतले वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो । 

विश्वमा छोटो अवधिमा हुने परिवर्तनलाई समेटी अर्थतन्त्रको दिशाबोध गर्नका लागि त्रैमासिक राष्ट्रिय लेखाका अनुमान तयार गरी प्रयोग गर्ने प्रचलन रहेको छ । नेपालको सन्दर्भमा राष्ट्रिय तथ्याङ्क कार्यालयले अर्थतन्त्र भित्रको यस किसिमका विभिन्न आर्थिक सूचकमा आएको छोटो अवधिको परिवर्तनलाई समावेस गरी अन्तर्राष्ट्रिय मापदण्ड तथा सिद्धान्तबमोजिम त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । 

नेपालले विगत एक दशकदेखि निरन्तर रूपमा त्रैमासिक राष्ट्रिय लेखा अनुमान तयार गरी प्रकाशन गर्दै आएको छ । यही क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले आ.व. २०६७/६८ लाई आधार वर्ष मानेर आ.व. २०८०/८१ को चौथो त्रैमासिकको कुल ग्राहस्थ्य उत्पादनको अनुमान सार्वजनिक गरेको हो ।

त्रैमासिक कुल ग्राहस्थ्य उत्पादनका अनुमान तयार गर्दा विभिन्न आर्थिक क्रियाकलापहरूसँग सम्बन्धित सूचकहरूका आधारमा अनुमान गर्ने गरिएको छ । 

आवास, यातायात र सार्वजनिक प्रशासनको उच्च वृद्धि हुँदा निर्माण क्षेत्र खुम्चिने अनुमान
चालु आवको चौथो त्रैमासिक र अघिल्लो आवको चौथो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १५ वटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ ।

तथ्यांक अनुसार चौथो त्रैमासमा आवास, खाना र सेवासँग सम्बन्धित क्रियाकलापमा उच्च वृद्धि हुने अनुमान गरिएको छ । अघिल्लो बर्षको तुलनामा १२.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यातायात र भण्डारणमा १०.९ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । सार्वजनिक प्रशासनतर्फ भने १०.८ प्रतिशत वृद्धि हुने अनुमान छ । 

तर, निर्माण क्षेत्रमा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.४ प्रतिशतले संकुचन हुने अनुमान छ । विद्युत, ग्यास र एयरकण्डिसनमा ३.५ र सुचना सञ्चारमा १.६ प्रतिशतले संकुचन हुने अनुमान छ । 

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३.२ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। हिउँदे बाली, तरकारी तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको हो । अर्कोतर्फ, अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको यो त्रैमासिकमा दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । 

व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादन र कृषि उत्पादनमा भएको सामान्य वृद्धिले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको हो । यद्यपि व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि अपेक्षित रूपमा हुन नसकेको अनुमान गरिएको छ । 

मौसमी प्रभाव समायोजित त्रैमासिक कुल ग्राहस्थ उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को चौथो अवधिमा १.० प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

चालु आवको तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा कुल १८ वटामध्ये १६ वटा औद्योगिक क्षेत्रहरूमा भएको सामान्य वृद्धिको प्रभावले समग्र कुल ग्राहस्थ्य उत्पादनमा पनि सामान्य वृद्धि देखिएको हो ।

खानी तथा उत्खनन् क्षेत्रमा सबैभन्दा बढी २३.४ प्रतिशत वृद्धि हुने र यो क्षेत्रलाई पछ्याउँदै विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान गरिएको छ । यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर नगण्य रूपमा ०.१ प्रतिशत हुने र समग्र अर्थतन्त्रको वृद्धिदर १.० प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । ऋणात्मक वृद्धि हुने दुई वटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै सूचना तथा प्रविधि क्षेत्रको ऋणात्मक वृद्धिदर (–४.९%) र यातायात तथा गोदाम क्षेत्रको वृद्धिदर ( ४.१४ रहेको छ ।