शीर्षकहरू

हमास प्रमुख मारिएको इजरायलको दाबी, अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा खुशी व्यक्त

हमास प्रमुख मारिएको इजरायलको दाबी, अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा खुशी व्यक्त

एजेन्सी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवार मारिएको इजरायलले दाबी गरेको छ । बिहीबार राति इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उक्त जानकारी गराए ।

प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिए ।  

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले हमास प्रमुखको मृत्यु ‘न्यायिक’ भएको बताएकी छन् । “हमासले इजरायलका लागि निम्त्याएको खतरालाई निर्मूल पार्नुपर्छ,” अर्को महिना हुने अमेरिकी राष्ट्रपतीय चुनावका लागि डेमाक्र्याटिक उम्मेदवार ह्यारिसले भनिन्, “परिणामस्वरुप विश्वले सुरक्षित महशुस गर्न सक्नेछ र पीडितका परिवारले राहत महसुस गर्नेछन्।”

इजरायली रक्षा बल (आईडीएफ) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ । 

आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै लेखेको छ, 'गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।'

मंगलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतंककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ । इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो ।

यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ ।

हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो ।  टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ ।

इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ ।