शीर्षकहरू

परिवत्‌र्य विदेशी मुद्रामा ऋण लिएकासँग नेपाली रुपैयाँमा नै असुल गराउन सकिने

परिवत्‌र्य विदेशी मुद्रामा ऋण लिएकासँग नेपाली रुपैयाँमा नै असुल गराउन सकिने

काठमाडौं । परिवत्‌र्य विदेशी मुद्रामा ऋण लिएकासँग बैंक तथा वित्तीय संस्थाले नेपाली रुपैयाँमा नै असुल गराउन सक्ने भएका छन्  । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धी परिपत्र शंसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

संशोधित परिपत्र अनुसार ऋणको किस्ता (सावाँ, ब्याज) विभिन्न परिस्थितिजन्य कारणले सम्बन्धित फर्म, कम्पनी र उद्योगहरूको विदेशी मुद्रा आम्दानी नभएर परिवत्‌र्य विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था भएमा २०८२ असार मसान्तसम्मका लागि सम्बन्धित बैंक–वित्तीय संस्थाले प्रचलित विनिमय दरका हिसाबले नेपाली रुपैयाँमा असुल गराउन सक्ने व्यवस्था गरिएको छ ।  

त्यस्तै, विदेशबाट विदेशी मुद्रा प्राप्त भएको आधारमा फर्म, कम्पनी, संघ, संस्थाले भारत तथा तेस्रो मुलुकका सेवा आयात गरी अन्य मुलुक (भारत समेत) मा निर्यात व्यापार गर्न विदेशी मुद्रा प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले विदेशी मुद्राको सुविधा उपलब्ध गराउन सक्नेछ ।

निर्यात रकम विदेशबाट सम्बन्धित वाणिज्य बैंकमा विदेशी मुद्रामा नै प्राप्त भएको हुनुपर्नेछ । प्राप्त रकम ननाघ्ने गरी निर्यात रकम प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले तेस्रो मुलुकको हकमा अमेरिकी डलर १२ हजार र भारतको हकमा ३० लाखको सीमाभित्र रहने गरी आयातको लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्नेछ । 

तर, नेपालको प्रचलित कानुनले कारोबार गर्न निषेध नगरेको कारोबार मात्र गर्नु पर्नेछ  । सम्पति शुद्धीकरण सम्बन्धी व्यवस्थाहरुको पालना हुनुपर्नेछ । नियामक निकायको सिफारिश, स्वीकृति अनिवार्य हुनेछैन । निर्यात रकम भारतीय रुपैयाँमा प्राप्त भएको हकमा भने आयातको भुक्तानी परिवत्‌र्य विदेशी मुद्रामा गर्न पाइने छैन । यस व्यवस्था बमोजिम आयातको भुक्तानी सम्बन्धी विवरण सम्बन्धित बाणिज्य बैंकले अद्यावधिक गरी राख्नुपर्नेछ ।