शीर्षकहरू

बार अध्यक्ष घिमिरेसँग सर्वोच्चले माग्यो लिखित जवाफ

बार अध्यक्ष घिमिरेसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले अध्यक्ष घिमिरेला ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन वा वारेसमार्फत् पनि जवाफ पठाउन आदेश दिएको छ ।

घिमिरेले तत्कालीन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनको आधारमा न्यायाधीश नियुक्ति गरेको आरोप लगाएका थिए । उमेर हदका कारण अवकाश लिन लागेका बेला श्रेष्ठ सम्मिलित परिषदले सर्वोच्चमा २ न्यायाधीशमात्र सिफारिस गरेको आपत्ति जनाउँदै घिमिरेले भनेका थिए, 'अहिलेको बार गैरसंवैधानिक काममा कम्प्रमाइज गर्दैन। गैरन्यायिक काममा कम्प्रमाइज गर्दैन। आज मैले जति बोलेको छु नि प्रधानन्यायाधीशको खिलाफमा। सक्नुहुन्छ भने प्रधानन्यायाधीशज्यू, मलाई थुन्न मिल्छ तपाईंले थुन्नुस्। मलाई थुनेर तपाईंले गरेको गैरन्यायिक र गैरसंवैधानिक काम संवैधानिक हुन्छ भने थुन्नुस्। मेरो चुनौती हो। मैले त तपाईंलाई लेनदेनको आधारमा न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसकेँ। मैले त तपाईंलाई यो आफूले लिएको हिसाबकिताब मिलानका लागि न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसकेँ। सक्नुहुन्छ थुन्न भने थुन्नुस्।'

उनको उक्त अभिव्यक्तिपछि अदालतमा उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको थियो ।