शीर्षकहरू

गाजामा एक सातामा ४०० प्यालेस्टिनी मारिए, करिब १५०० घाइते

गाजामा एक सातामा ४०० प्यालेस्टिनी मारिए, करिब १५०० घाइते

एजेन्सी । गाजामा एक सातामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसंघका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन् ।  गाजाको मानवीय अवस्थाबारे राष्ट्रसंघीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताए ।  

अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिका सहित धेरै व्यक्तिहरूले कठिन जीवनको  सामना गरिरहेको उनले उल्लेख गरेका छन् ।  यस्तो आतंकले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उनले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताए ।  

उनले अक्टोबरको शुरूदेखि १५ सम्म गाजामा कुनै पनि खाद्य सहायता नआएको बताउँदै बाँच्नका लागि सबै आवश्यक सामग्रीहरू समाप्त भइरहेको बताए ।  गाजाको दयनीय अवस्था र पीडालाई ध्यानमा राख्दै, मानवीय पहुँच अस्तित्वहीन भएको उनको भनाइ छ । पटक-पटकका मिसन अवरुद्ध हुँदा, अभावबीच बाँचिरहेका गाजाबासीलाई मानवीय सहायताको अझ बढी खाँचो भएको उनले बताएका छन् ।

गाजाको पीडालाई शब्दमा वर्णन गर्न नसकिने बताउँदै अधिकारीले अन्तर्राष्ट्रिय कानूनलाई सम्मान गरी सबै सदस्य राष्ट्रहरूले सहायतालाई सुनिश्चित गर्नुपर्ने बताए । बैठकका लागि अनुरोध गर्ने अल्जेरियाका प्रतिनिधिले गाजाको विनाशकारी मानवीय अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।  

मंगलबार गाजामा सहायताका ट्रकहरू आएको भए पनि घेराबन्दीका कारण जबालिया पुग्न असफल भएको उल्लेख गर्दै उनले  मानवीय सहायताका सामाग्रीको अभाब सिर्जना गर्ने सैन्य घेराबन्दी अस्वीकार्य मात्र नभई युद्ध अपराध भएको बताए ।  

राष्ट्रसंघमा प्यालेस्टाइनका लागि स्थायी पर्यवेक्षक रियाद मन्सुरले गाजामा भइरहेको आक्रमणको विकल्प मौनता र निस्क्रियता नभएको उल्लेख गरेका छन् । प्यालेस्टिनी र लेबनानी जनताले इजरायलको दण्डहीनताको मूल्य चुकाउन बाध्य भएको उल्लेख गर्दै गाजामा घेराबन्दी, भोकमरी र बम विस्फोटमा परेका चार लाख  प्यालेस्टिनीलाई अधीनमा राखिनु युद्ध नभई अपराध भएकाले यसलाई रोक्नुपर्ने उनको भनाइ छ ।

मन्सुरले सुरक्षा परिषद्लाई चार्टर र कानुनद्वारा प्रदान गरिएका उपकरणद्वारा कानुन विपरीत काम गर्नेहरूसँग लड्न आह्वान गर्दै यो काम गर्ने समय भएकाले अरू केही पनि बाहाना आत्मसमर्पण भएको उल्लेख गरे । यसै सन्दर्भमा टिप्पणी गर्दै इजरायलका प्रतिनिधिले आफ्नो देश विरुद्धको आक्रमणको विस्तृत विवरण दिँदै १०१ जना मानिसलाई हमासले यातना दिएको र  सुरक्षा परिषद्का सदस्यहरूले बन्धकको बारेमा थोरै मात्र उल्लेख गरेको बताएको छ ।

इजरायल र मानवीय साझेदारले गाजामा भरपुर मानवीय सहायता ल्याउँदा पनि  हमासले सहायता ‘कब्जा’ गरी मानवीय अवस्थालाई दयनीय बनाएको उल्लेख गरेका छन् ।