शीर्षकहरू

पुङ्गी खोलामा पर्ने मापदण्ड विपरीतका संरचना घरधनी आफैले भत्काउन थाले

पुङ्गी खोलामा पर्ने मापदण्ड विपरीतका संरचना घरधनी आफैले भत्काउन थाले

चितवन । गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरीतका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलाएको थियो । महानगरले डोजर चलाउदाँ धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो । दशैँसकिए लगत्तै पुङ्गी खोला क्षेत्रमा पर्ने संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका छन् ।

नारायणगढको लायन्स क्लबको पाँचतले भवन अहिले घरधनीहरुले भत्काइरहेका छन् । कामदारले ट्रष्ट निकालेर ढलान फुटाउने काम गरिरहेका छन् । महानगरले पुङ्गी खोला सौन्दर्यकरण अभियान अन्तर्गत लायन्स भवनबाट डोजर चलाउन सुरु गरेको थियो । यो भवन सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढले ३० वर्षअघि निर्माण गरेको थियो । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङ्गी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।

भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लयान्स भवनलगायत अन्य संरचना क्रमश: घरधनी आफैले भत्काउन सुरु गरेको जानकारी दिए । अतिक्रमित संरचना हटाउन पटक-पटकको सूचनामा भइसकेकाले आफै संरचना भत्काउन अनुरोध गरिएको उनले बए । घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उनको भनाइ छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले पुङ्गी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको बताएकी छन् ।  ‘अहिले घरधनीहरुले मापदण्ड विपरीतका संरचना आफै भत्काइ रहनुभएको छ’,उनले भनिन्,‘ यो खुसीको विषय हो । महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन । अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौँ ।’  

पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ । महानगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काएर सौन्दर्यकरणको कार्य अघि बढाएको छ ।