शीर्षकहरू

अब धर्म प्रचारसहित गेमिङ र लौट्रीका लागि पनि विदेशबाट रकम पठाउन सकिने

अब धर्म प्रचारसहित गेमिङ र लौट्रीका लागि पनि विदेशबाट रकम पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले धर्म प्रबर्द्धनका लागि पनि रकम पठाउन सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी परिपत्र संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

संशोधित परिपत्रअनुसार रकम प्राप्त गर्दा रकमको प्रयोजनअन्तर्गत विभिन्न शीर्षकमा कारोबार प्रयोजन पनि खुलाउनुपर्ने व्यवस्था गरेको छ । विप्रेषण, अन्य ट्रान्सफर, तलब, ज्यालालगायत प्राथमिक आम्दानी, कम्प्युटर तथा सूचना सेवा, अन्य सेवा र वस्तु व्यापार शीर्षकमा रकम पठाउनुपर्ने व्यवस्था गरिएको छ । 

अन्य ट्रान्सफरको शीर्षकमा धर्म प्रवर्द्धनका लागि प्राप्त हुने रकमलाई राख्नुपर्ने व्यवस्था गरिएको छ । कुनै किसिमको कानुनी तथा व्यावसायिक प्रतिफल हुने अपेक्षा नराखी परोपकारी विचार, गेमिङ, लोट्री क्षतिपूर्ति आदिबापत प्राप्त हुने रकमलाई पनि अन्य ट्रान्सफर शीर्षकमा राख्नुपर्नेछ । 

विप्रेषण शीर्षकमा विदेशबाट रकम पठाएबापत कुनै प्रतिफल अपेक्षा नगरी आफ्नो परिवार, इष्टमित्र, साथीभाइलाई पठाउने रकमलाई राख्नुपर्नेछ । यसमा पठाउने र पाउने दुवै पक्ष व्यक्ति हुनुपर्नेछ । आफ्नो परिवार, इष्टमित्र, साथीभाइलाई विदेश बस्ने नेपाली व्यक्तिले रकम पठाउँदा उद्देश्य औषधी उपचार, शिक्षा शुल्क, ऋण वा ब्याज तिर्ने आदि उल्लेख गरे पनि उक्त रकमलाई विप्रेषणमा नै राख्नुपर्नेछ । यसअन्तर्गत दैनिक २० लाखको सीमा लागू हुने छैन ।

कुनै विदेशी व्यक्ति वा संस्थाअन्तर्गत काम गरेवापत त्यस्ता व्यक्ति वा संस्थाले पठाउने रकमलाई तलब ज्याला लगायत प्राथमिक आम्दानीको शीर्षकमा राख्नुपर्नेछ ।  यसअघि भने केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको थिएन । परिपत्र संशोधन गरी नयाँ व्यवस्था गरेको हो । 

कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर सम्बन्धी सेवा विक्री मर्मत सम्भार गरेवापत प्राप्त हुने रकम, फ्रिल्यान्सिङ्ग कार्यवापत प्राप्त हुने रकम, विज्ञापन राखेबापत विदेशी संस्थाले दिएको रकमलाई कम्प्युटर तथा सूचना सेवा शीर्षकमा राख्नुपर्नेछ ।

यातायात सम्बन्धी सेवा, भ्रमण सेवा, परामर्श तथा व्यवस्थापकीय सेवा, कमिसन, व्यावसायिक सेवा तथा अन्य सेवा बापत प्राप्त हुने रकमलाई अन्य सेवा शीर्षकमा राख्नुपर्नेछ । वस्तु व्यापार हिसाब मिलान बापत प्राप्त हुने रकमलाई वस्तु व्यापार शीर्षकमा राख्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।

होटलहरूले प्रति ग्राहक अधिकतम् एक हजार अमेरिकी डलर सटही गर्न पाउने भएका छन् । होटलहरूले एक बसाइँ अवधिमा एकै पटक वा पटक-पटक गरी सटही प्रदान गर्न सक्नेछन् । यसअघिको व्यवस्था अनुसार भने होटलहरूले प्रति ग्राहक अधिकतम ३०० अमेरिकी डलर सटहीको गर्न सक्ने व्यवस्था थियो । 

नेपाल राष्ट्र बैँकबाट अनुमति प्राप्त गरेका विप्रेषण कम्पनी बाहेक अन्यले सहायक एजेन्ट तथा प्रतिनिधिहरु राख्ने पाउने छैनन् । विप्रेषण कम्पनीले पनि सहायक वा सहायक प्रतिनिधि बाहेकका मध्यस्थता राख्न पाउने छैनन् । 

मनिचेञ्जरले पोइन्ट अफसेल्स क्युआर कोड लगायतका विद्युतीय माध्यमबाट सटही सुविधा दिन सक्नेछ । 

उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर १५ हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् । यस अघि १० हजार रुपैयाँसम्म सटही गर्ने सक्ने सुविधा थियो । 

हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरु तत्कालै विदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर एक लाख मूल्यसम्मका त्यस्ता समानहरु अन्तराष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिनेछ । यसअघि १० हजारसम्मका आयात गर्न सकिने व्यवस्था थियो ।