शीर्षकहरू

भारतबाट किनेको ८५ हजार किलो चामल न्युन गुणस्तरको भेटिएपछि भारतमै फर्काइयो

भारतबाट किनेको ८५ हजार किलो चामल न्युन गुणस्तरको भेटिएपछि भारतमै फर्काइयो
फाइल तस्वीर

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगञ्जले ८५ हजार किलो (८५० क्विन्टल) चामल भारत फर्काएको छ । उक्त चामल परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्याधिक बढी भई नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएको थियो ।

जसकारण आयात गर्न नमिल्ने भनी नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकाले उक्त न्यूनस्तर चामलको कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको भन्सार कार्यालयले जनाएको जानकारी विभागले दिएको छ ।

उक्त चामल बुधबार भारत फर्काइएको हो । साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुः काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगञ्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गट्टाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँका प्रयोगशालाहरुबाट भन्सार बिन्दुमै खाद्य पदार्थहरुको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रुपमा गर्दै आएको विभागले जानकारी दिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।