शीर्षकहरू

नोबेल पुरस्कार पाएपछि हानको पुस्तक एक सातामै साढे १० लाख प्रति बिक्यो

नोबेल पुरस्कार पाएपछि हानको पुस्तक एक सातामै साढे १० लाख प्रति बिक्यो

काठमाडौं । साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै स्थानीय स्तरमा बिक्री भएको कोरियाली पुस्तक विक्रेताले बुधबार जनाएको छ।

लघु कथाकार र उपन्यासकार हानको म्यान बुकर पुरस्कार विजेता ‘द भेजिटेरियन’ का लागि उहाँ विदेशमा परिचित छन् । उनको ‘द भेजिटेरियन’ अङ्ग्रेजीमा अनुवाद गरिएको पहिलो उपन्यास हो।

नोबेल पुरस्कार जित्ने पहिलो एसियाली महिला लेखिका समेत बनेकी ५३ वर्षीया लेखिकालाई ‘ऐतिहासिक आघातको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने गहन काव्यात्मक गद्यका लागि’ छनोट गरिएको स्वीडिश एकेडेमीले गत साता जनाएको थियो ।

हानले नोबेल पुरस्कार जितेको घोषणापछि दक्षिण कोरियामा उनका कृति र उनको लेखन शैलीबारे सनसनी मच्चिएको छ । नोबेल पुरस्कार घोषणापछि प्रमुख पुस्तक पसल र प्रकाशन गृहहरूको वेबसाइटहरूमा उहाँका कृतिहरूको माग ह्वात्तै बढेको थियो । दशौं हजार मानिसहरूले उनका कृतिको माग गर्न थालेपछि बजारमा उनका कृतिहरूको अभाव देखिएको छ । 

गत बिहीबारको नोबेल घोषणापछि बुधबार बिहानसम्म ई–बुकसहित कम्तीमा १० लाख ६० हजार प्रति बिक्री भइसकेको तीन प्रमुख पुस्तक पसल तथा अनलाइन खुद्रा बिक्रेता क्योबो, अलादिन र येस २४ ले एएफपीलाई बताएका छन् ।