काठमाडौं । अघिल्ला वर्षहरूभन्दा तुलनात्मक रूपमा विजयदशमीमा कम सुनसान देखिएको काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ । दशैँ सकिएसँगै सडकमा सवारी आवागमन बढेको छ भने पसल र कार्यालयहरू पनि खुलेका छन् । दशैँ मान्न गाउँ गएकाहरू पनि काठमाडौँ फर्किने क्रम बढेको छ ।
खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् । मंगलबारसम्म सुनसानजस्तै देखिएको काठमाडौँमा बुधबार सामान्य चहलपहल बढेकोमा आज बिहीबार निजी र सार्वजनिक सवारीसाधन बाक्लो रुपमा चलेका छन् । विजयादशमीमा टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैंको टीका लगाउने चलन भएकाले आज पनि आफन्त तथा मान्यजनकहाँ टीका लगाउन जानेको संख्या पनि बाक्लो देखिएको छ ।