शीर्षकहरू

सलमान र शाहरुखका मित्र बाबा सिद्धिकीको हत्यामा नाम जोडिएका लरेन्स बिश्नोई को हुन्?

सलमान र शाहरुखका मित्र बाबा सिद्धिकीको हत्यामा नाम जोडिएका लरेन्स बिश्नोई को हुन्?

भारतको महाराष्ट्रको राजनीतिमा चर्चित नाम बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरियो । उनी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी-अजित पावर) का नेता थिए । उनलाई इफ्तार पार्टीको आइकन पनि भनिन्थ्यो, जहाँ हरेक वर्ष राजनीतिज्ञदेखि चलचित्रकर्मीसम्म सबै उपस्थित हुन्थ्यो ।

प्रहरीका अनुसार बन्दुकधारीहरूले बाबा सिद्दिकीमाथि कैयौं राउण्ड गोली प्रहार गरेपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । मुम्बई प्रहरीले सिद्दिकीको हत्यामा तीन शूटर संलग्न रहेको पुष्टि गरेको छ । प्रहरी अपराध शाखाका डीसीपी दत्ता नलावडेका अनुसार घटनास्थलमा तीन जनाले गोली चलाएका थिए जसमध्ये दुई जना पक्राउ परेका छन् भने एकजना फरार छन्, उनको खोजी भइरहेको छ ।

यसबाहेक प्रहरीले अन्य धेरैलाई पनि पक्राउ गरेको छ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार पक्राउ परेका एकजना हरियाणाका र अर्को उत्तर प्रदेशका हुन् । हरियाणाको कैथल जिल्लाको नारद गाउँका गुरमेल सिंहलाई बाबा सिद्दीकी हत्या प्रकरणमा मुम्बई प्रहरीले पक्राउ गरेको छ ।

बाबा सिद्दीकी हत्या प्रकरणमा दोस्रो अभियुक्तको नाम धर्मराज निषाद हो । धर्मराजको परिवार उत्तर प्रदेशको बहराइच जिल्लाको कैसरगञ्जमा बस्छ ।

बाबा सिद्दिकीको नाम राजनीतिक सर्कलमा मात्रै नभएर बलिउडमा पनि निकै गहिरो थियो । बाबा सिद्दीकी मुम्बईका पहिलो नेता थिए जसले ठूलो उत्सवको रूपमा इफ्तार पार्टी आयोजना गर्न थालेका थिए ।

सन् २०१३ मा भएको इफ्तार पार्टीमा बाबा सिद्दिकीले सलमान र शाहरुख दुवैलाई निम्तो दिएका थिए । आजकल सलमान र शाहरुखलाई सँगै देख्दा कुनै अचम्मको कुरा छैन, तर एक समय थियो जब दुबैले एकअर्कालाई भेट्न पनि मन पराउँदैनन् । करिब पाँच वर्ष उनीहरु एकअर्कासँग बोलेनन् र सँगै काम पनि गरेनन् । तर सलमान र शाहरुखबीचको पाँच वर्ष पुरानो मनमुटाव सन् २०१३ को इफ्तार पार्टीमा बाबा सिद्दिकीले दुवैलाई अँगालो हालेर अन्त्य गरेका थिए ।

बाबा सिद्धिकीको हत्यामा यतिबेला अगाडि जोडिएर आएको नाम हो लरेन्स बिश्नोई । उक्त हत्यामा बिश्नोईको नाम जोडिएपछि  बलिउड अभिनेता सलमानको सुरक्षामा कडाइ गरिएको छ । बिस्नोई समूह त्यही हो, जसले पटक-पटक सलमान खानलाई हत्याको धम्की दिएको छ ।

३३ वर्षीय बिश्नोईमाथि हत्या, चोरी-डकैतीलगायत धेरै आरोपहरू छन् । पञ्जाब, दिल्ली र राजस्थानमा उनीविरुद्ध मुद्दा चलिरहेको छ भने उनी हाल जेलभित्र छन् । उनले जेलभित्रैबाट अपराधको दुनियाँ चलाइरहेका छन् । लरेन्सविरुद्ध करिब ५० आपराधिक मुद्दा दर्ता छन्, जसमध्ये अधिकांश घटना लरेन्सले जेलभित्रैबाट गराएको बताइन्छ । उनीमाथि चर्चित पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्याको पनि आरोप छ ।

केही समयअघि उनको एक अन्तर्वार्ता सार्वजनिक भएको थियो, जुन टेलिभिजनले जेलभित्रैबाट लिएको दाबी गरे पनि प्रहरीले त्यसलाई इन्कार गर्दै आएको छ । उक्त अन्तर्वार्तामा बिश्नोईले आफ्ना दाजुभाइको हत्यापछि जवाफस्वरुप आफू अपराधिक दुनियाँमा छिरेको बताएका थिए ।