शीर्षकहरू

भेडेटारको कोसेली हरियो सागसब्जी

भेडेटारको कोसेली हरियो सागसब्जी

सुनसरी । धनकुटाको भेडेटारका प्रत्येक पसलहरुमा हरियो सागसब्जी र फलफूलहरु बिक्रीका लागि राखिएका छन् । जहाँ  धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अग्र्यानिक’ उत्पादन पाइन्छ । 

अहिले दसैँ मनाउन आउने र फर्कनेको भीड छ । यहाँ आइपुग्ने यात्रुहरुले कोसेलीका रूपमा भेडेटारको हरियो सागसब्जी किन्ने गरेका छन् । ग्राहकको भीड नै लागेपछि व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ छ । 

धनकुटाका मनिसा कुँवर भेडेटारमा सागसब्जी किन्दै गर्दा भेटिन । उनी धनकुटाबाट इटहरी टीका लगाउन जाँदै गरेकी थिएन । उनको हातभरि हरियो साग, सिमी र किबी थियो । “इटहरी माइत टीका लगाउन हिँडेको ताजा सब्जी, फलफूल देखेपछि किन्न मन लाग्यो । पहाडी भेगको अग्र्यानिक सागसब्जी मधेसमा लाँदा त चीज हुन्छ, दसैँको बेला त कोसेली पो हुन्छ”, मुसुक्क हाँस्दै उनले भनिन । 

दसैँतिहारमा मात्र भेडेटारमा हरियो र अग्र्यानिक सागसब्जी बिक्री हुने भने हैन । पहाडी भेगबाट सिजनअनुसार सागसब्जी र फलफूल बिक्रीका लागि यहाँ आइरहने व्यापारी कोपिला राई बताइन । उनले भनिन, “यहाँ भ्रमणमा आएका अधिकांशले फर्कने समयमा सागसब्जी कोसेलीका रुपमा लैजाने गर्नुहुन्छ । दसैँमा चाहीँ अन्य बेला भन्दा कोसेलीका लागि किन्नेको भीड अलि धेरै हुन्छ ।” 

व्यापारी विक्रम मगर अघिपछि भन्दा दसैँ लागेपछि ग्राहकको भीड बढेको बताइन । उनले भनिन, “अघिपछि सागसब्जी खरिद गर्छन् लैजान्छन्, कहाँको हो कसैले सोधपुछ गर्दैनन्, यहाँ सबै पहाडी भेगबाट सागसब्जी अग्र्यानिक र ताजा आउने गरेकाले दसैँको बेला पनि सागसब्जी किन्नेको भीड लागेको छ ।”  दसैँ सुरु भएयता रु दुई लाख बढीको सागसब्जी र किबी बिक्री गरेको मगरले बताइन । 

मगरकाअनुसार यहाँ धनकुटा, नाम्जे, राजारानी मूलघाट, भोजपुरलगायतका ठाउँबाट हरियो सागसब्जी, अकबरे खोर्सानी, किबी टमाटर र आलु ल्याइने गरिन्छ । पहाडी भेगमा उत्पादित सागसब्जी स्वादिष्ट हुने भएकाले महँगो भए पनि खरिद गरेर लैजाने गरेका स्थानीय सुरज राई बताए ।रासस