शीर्षकहरू

हुम्लीलाई अन्नबाली भित्र्याउने चटारो

हुम्लीलाई अन्नबाली भित्र्याउने चटारो

सिमकोट ।  हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दिनदेखि सुनसान छ । बडादसैंमा गाउँ फर्केकाहरु टीका सकिए पनि सदरमुकाम फर्किन बाँकी रहेकाले सुनसान भएको हो । दसैँमा पहिलो पटक सिमकोट बजार यति धेरै सुनासान देखिएको स्थानीय व्यापारी बताउँछन् । सदरमुकाममा तल्लो र माथिल्लो गाउँका केही सर्वसाधारण मात्रै भेटिने गरेका छन् । बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थी दसैँ मनाउन घर गएका छन् । 

दसँैंमा खुलेका पसलमा पनि ग्राहक नआएको सदरमुकाममा पसल गर्दै आउनुभएका नरेन्द्र भण्डारीले बताउनुभयो । सदरमुकाम सुनसान हुनुको कारण स्थानीयलाई कात्तिकमा पाक्ने अन्नबाली भित्र््याउने चटारो रहेको स्थानीय मुकुन्द रोकायाले बताए ।
 
 छ महिनाको लगानी खेर जाने चिन्ताले पनि दसैँभन्दा कामलाई बढी प्राथमिकता दिँदा दसैँले नछोएको रोकायाको भनाइ छ । “अहिले खेतमा पाकेको फल(तुल) घर नभित्र्याए हिउँदको छ महिना कसरी घर गुजारा गर्ने”, उनले भने । 

अष्टमीको दिन दसैँ मनाएर हिउँदमा पशुपक्षीका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्याउन व्यस्त भएको सिमकोट गाउँपालिका–२ बदुम बोहराले बताए । यहाँका गाउँमा चिनो, कागुनो, कोदो, सिमी पाकेकाले भित्र््याउनमा स्थानीयवासी व्यस्त भएका हुन् ।