शीर्षकहरू

दशैपछिको कारोबारमा सिटिजन्स बैंकको शेयर किन्नेले पाउदैनन् लाभांश

दशैपछिको कारोबारमा सिटिजन्स बैंकको शेयर किन्नेले पाउदैनन् लाभांश

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको यस वर्षको लाभांश दशैपछिको कारोबारमा शेयर खरीद गर्ने लगानीकर्ताहरुले पाउनेछैनन् । यस बैंकले गत आर्थिक वर्ष ०८०÷८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीले कात्तिक १२ गते १८औं वार्षिक साधारण सभाबाट पारित गर्दैछ । 

उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले तय गरेको बुक क्लोजको मितिभन्दा अघिल्ला तीन कारोबार दिन दशैंको सार्वजनिक विदा परेको छ । बुक क्लोजको मिति तय गरिसकेको अवस्थामा बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भने कम्पनीको बोनस शेयरपछिको मूल्य तय गरिसकेको छ । असोज २३ गते कायम कम्पनीको अन्तिम शेयरमूल्य २५३ रुपैयाँको आधारमा नेप्सेले कम्पनीको ४ प्रतिशत बोनस शेयरपछिको मूल्य २४३ रुपैयाँ २७ पैसा तोकेको छ । 

दशैपछिको कारोबारमा दशै अघिको मूल्यभन्दा कम मूल्यमा कम्पनीको शेयर भने खरीद गर्ने अवसर प्राप्त हुनेछ । यस कम्पनीले गत वर्षको तुलनामा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ दशमलव ७९ प्रतिशत कर समेत नगद लाभांश मात्र वितरण गरेको थियो । त्यस अघिको वर्ष भने कम्पनीले कर समेत ९ प्रतिशत नगद लाभांश वितरण गरेको तथ्याङ्क छ ।

अघिल्ला दुई आर्थिक वर्ष नगद लाभांश मात्र वितरण गरेको कम्पनीले यस वर्ष भने बोनस शेयरमा जोड दिएको छ । हाल कम्पनीको चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा ५६ करोड ८० लाख ३८ हजार रुपैयाँ बराबरको बोनस शेयर र २ करोड ९८ लाख ९६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।