शीर्षकहरू

दशैँमा सिनेमा : ओस्करमा पठाइएका १४ नेपाली फिल्म, युट्युबमै हेर्नुहोस् यी ८

दशैँमा सिनेमा : ओस्करमा पठाइएका १४ नेपाली फिल्म, युट्युबमै हेर्नुहोस् यी ८

नेपालमा वर्सेनी दर्जनौँ फिल्म बन्छन् । तीमध्ये एकाधले लगानी उठाए पनि धेरै फ्लप हुन्छन् । हलमा डुबेका कतिपय फिल्मले डिजिटल प्लेटफर्ममा राम्रो प्रशंसा पनि पाउँछन् । तर नियति भने उही– नेपालमा अधिकांश फिल्मले लगानी उठाउँदैनन् । नेपालमा गुणस्तरीय र कलात्मक फिल्म नबनेको गुनासो धेरैको छ । यद्यपि यो होइन कि नेपालमा राम्रो फिल्म नै बनेका छैनन् ।

हालै रिलिज भई राम्रो चर्चा बटुलिरहेको चलचित्र मीन भाम निर्देशित चलचित्रले राम्रो चर्चा बटुलिरहेको छ । यसअघि गत वर्ष हल्कारा र त्यसअघि ऐना झ्यालको पुतलीले राम्रो प्रशंसा मात्रै बटुलेनन् विश्वकै प्रतिष्ठित अवार्ड ‌ओस्करसम्मको यात्रा पनि गरे ।

यसबाहेक पशुपति प्रसाद, कबड्डी, जारी, बधशाला, तान्द्रो, होस्टललगायत धेरै फिल्मले नेपाली दर्शकको राम्रो प्रशंसा पाएका छन् । तर, आउनुहोस् आज हामी चर्चा गरौँ विश्वकै प्रतिष्ठित अवार्ड ओस्करसम्म यात्रा गर्ने नेपाली फिल्मको । ओस्करका लागि हालसम्म १४ नेपाली फिल्म पठाइएका छन् । यद्यपि हालसम्म क्याराभान र  २०५७ मा बनेको छिरिङरितार श्रेपा निर्देशित मुकुण्डोबाहेक अन्य फिल्म प्रारम्भिक छनोटमा पनि परेका भने छैनन् । क्याराभान नोमिनेसनमा परेको थियो भने मुकुण्डो मनोनयनको दोस्रो चरण (प्रि-नोमिनेसनको शीर्ष २०) मा पुगेको थियो 

क्याराभान

क्याराभान ओस्कर यात्रा गर्ने पहिलो नेपाली चलचित्र हो । २०५६ सालमा बनेको यो फिल्मले हिमाली जिल्ला डोल्पाको कथा भन्दछ । नुन पाउनकै लागि कर्णालीका जनताले गर्नुपर्ने संघर्षलाई यस फिल्मले देखाएको छ । यसलाई विदेशी नागरिक फ्रान्सेली फोटोग्राफर एवं निर्देशक एरिक भ्यालली निर्देशन गरेका हुन् ।

क्याराभान ओस्करको ७२औँ संस्करणमा सूचीकृत भएको थियो । यो फिल्म युट्युबमा पनि उपलब्ध छ भने यसका निर्देशक भ्याली २०७९ देखि अर्को नेपाली फिल्मको तयारीमा जुटेका छन् ।

कालोपोथी र साम्बाला

माओवादी जनयुद्धको सेरोफेरोको कथामा आधारित भएर मीन भामले तयार गरेको फिल्म हो कालोपोथी । विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू जित्न सफल यो फिल्मलाई नेपाली आधुनिक फिल्मको मानक मान्नेहरू पनि छन् । ८९ औ श्रृङ्खलाको ‌ओस्कर अवार्डका लागि नेपालबाट सहभागी भएको यो फिल्म हालका दिनमा पनि उत्तिकै चर्चा हुने फिल्म हो । भामको निर्देशनमा बनेको अर्को फिल्म साम्बाला यतिबेला हलमा चलिरहेको छ । साम्बालाले राम्रो प्रशंसा बटुलिरहेको छ । बहुपति प्रथामा आधारित यो फिल्म ९७ औँ संस्करणको ‌ओस्कर अवार्डका लागि छनोट भइसकेको छ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा अवार्ड बटुल्दै अन्तत: नेपालमा सार्वजनिक भएको यो फिल्मले अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रलाई पुर्‍याउने विश्वास धेरैको छ ।

ऐना झ्यालको पुतली

सुजित बिडारीद्वारा लिखित र निर्देशित चलचित्र ऐना झ्यालको पुतली ६० को दशकको एक ग्रामिण परिवारको कथा हो । बाल विवाहलगायत सामाजिक बन्धनले गर्दा एक किशोरीको टुटेको सपनाको कथा हो ।  बाल्यकाल र किशोरावस्थाका कथा, सपना र समाजले 'बट्टामा कैद पुतली' जस्तै कैद गर्न चाहने नेपाली समाजको कथामा बुनिएको यो फिल्म ९६औँ ओस्कर अवार्डका लागि नेपालबाट छनोट भएको थियो तर मनोनयन भने भएन ।

हल्कारा

हल्कारा एक हुलाकीको कथा हो । हुलाकी पात्र राममार्फत् नेपाली श्रमिकले भोग्नुपरेको संघर्षको कथा यस फिल्मा देखाइएको छ । २०८० वैशाखमा रिलिज भएको यो फिल्मले वर्षकै उत्कृष्ट समीक्षा प्राप्त गरेको थियो । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मलाई नेपालबाट ओस्कर अवार्डका लागि पठाइएको थियो । यो फिल्म अमेजन प्राइममा उपलब्ध छ ।

झोला

यादव भट्टराईको निर्देशनमा बनेको झोला कृष्ण धरावासीको कथा झोलामा आधारित फिल्म हो । सती प्रथाको घटनामा आधारित यो फिल्ममा एक भर्खरकी युवती, वृद्ध पतिको मृत्युपछि सती जानुपर्ने अवस्था आएपछिको घटनामा आधारित छ । ओस्करको ८७ औं संस्करणका लागि छानिएको यो फिल्म ओस्करमा त छानिएन, तर नेपालमा भने निकै चर्चा बटुल्यो । यो फिल्म पनि युट्युबमा उपलब्ध छ ।

टलकजंग भर्सेस टुल्के

नेपाली फिल्मलाई नयाँ धार दिने निर्देशकका रुपमा चिनिएका निश्चल बस्नेतले निर्देशन गरेको दोस्रो फिल्म हो टलकजंग भर्सेस टुल्के । माओवादी जनयुद्ध यस फिल्मको कथाको समय भए पनि यस फिल्मको मुख्य विषयवस्तु टुल्केका रुपमा अपमानित एक व्यक्तिले टलकजंग बन्न गरेको आत्मसम्मानको कथा हो । खगेन्द्र लामिछानेको कथामा बनेको यो फिल्म ८८ औं ओस्कर अवार्डका नेपालबाट छनोट भएको थियो ।

मुकुण्डो : मास्क अफ डिजाइर’

छिरिङरितार शेर्पाको निर्देशनमा २०५७ सालमा बनेको यो फिल्म एक महिलाको आध्यात्म र यौनमनोविज्ञानको कथामाथि बनेको फिल्म हो । जब एक दम्पत्तिको भेट यौनबासना र आध्यात्मको द्वन्द्वमा बाँचिरहेकी त्रिपुरा माताका रुपमा मानिएकी झाँक्रिनीसँग हुन्छ त्यसपछिको उतारचढाव कथाले भनेको छ । बाहिरी संसारमा एक व्यक्तिका रुपमा मानिएको व्यक्तिको मुकण्डो भित्र दबिएको अतृप्त चाहना र असन्तुष्टीको कथा यस फिल्मले भनेको छ । ‌ओस्करको प्रि-नोमिनेसनको शीर्ष २० मा पुगेको यो फिल्म केही समयअघि मात्रै युट्युबमा सार्वजनिक भएको छ ।

सेतो सूर्य

माओवादी जनयुद्धकै समयको कथामा बनेको अर्को फिल्म हो सेतो सूर्य । दीपक रौनियारद्वारा निर्देशित यो चलचित्र भेनिस, टोरन्टो र बुसानका चलचित्र महोत्सवमा छनोट भएको थियो भने सिंगापुरमा पुरस्कृत । यसको कथा माओवादी पक्ष र राज्यपक्षबीचको द्वन्द्वमा आधारित छ । ९०औं संस्करणको ओस्करका लागि यो फिल्म छानिएको थियो ।

बुलबुल

पक्षघातग्रस्त ससुराको स्याहार गरेर परदेशी पति पर्खिरहेकी युवतीको जीवनमा नयाँ युवकको भेटसँगै अंकुराएको प्रेमपछि आउने मनोवैज्ञानिक विचलनमा आधारित रहेर निर्माण गरिएको चलचित्र हो बुलबुल । विनोद पौडेले निर्देशन गरेको यो चलचित्र एक महिला टेम्पो चालकको कथा भनेको छ । यो फिल्म ९२औँ संस्करणको ओस्कर अवार्डका लागि नेपालबाट बिना प्रतिस्पर्धा छनोट भएको थियो ।

मुनामदन

२०६० सालमा ज्ञानेन्द्र देउजाले निर्देशन र निर्माण गरेको यो चलचित्रको कथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनबाट लिइएको हो । यसमा मदन भोट गएपछि यता मुना र आमाले भोग्नुपरेको ब्यथा र उता मदन बिरामी भएर गर्नुपरेको संघर्षको कथालाई प्रस्तुत गरिएको छ । भोटमा साथीभाइले छाडेका मदन अपरिचित शेर्पाले औषधिउपचार गरेर तङ्ग्रिएको र घर फर्किएपछि मुना र आमासँगको वियोग कथा भनिएको छ । यसलाई नेपालबाट ‌ओस्करका लागि पठाइएको थियो । यो फिल्म पनि युट्युबमा उपलब्ध रहेको छ ।

बसाइँ

बसाइँ पनि कृतिमा आधारित चलचित्र हो । पूर्वी नेपालको नमहीन पहाडी गाउँका धनबहादुर नामका किसान, उनकी श्रीमती, बहिनी र एक वर्षे छोराले गाउँमा गरेको संघर्षको कथा छ । गाउँकी सोझी युवती परदेशबाट आएको लाहुरेसँग प्रेममा परेको, रिकुटे नामको लाहुरेले विभिन्न लालच देखाएर फसाएर गर्भवती बनाएको विषय यस उपन्यासका हो । अन्तत: गर्भवती बनेकी बहिनीका कारण दाजुभाउजुसहित सपरिवार बाध्यतावश बसाइँ सर्नुपरेको वियोगान्त कथा यसमा भनिएको छ ।

सुवास गजुरेलले बसाइँ उपन्यासमा आधारित भएर निर्माण गरेको यो फिल्म ओस्करको ७९औं संस्करणका लागि नेपालबाट पठाइएको थियो ।

सुनगाभा

सुवर्ण थापाले पुनर्लेखन तथा निर्देशन गरेको फिल्म हो सुनगाभा । नेपालमा बनेको यो पहिलो समलिङ्गी विषयमा बनेको फिल्म हो । सरुभक्तको नाटकमा आधारित यो ८६ औं ओस्कर अवार्डका लागि विदेशी भाषी समूहका लागि नेपालतर्फबाट फिल्म 'सुनगाभा' छानिएको थियो । तर यो नोमिनेसनमा पर्न सकेन । नेपालबाट ओस्कर छनोटमा 'बधशाला' 'साँघुरो' पनि रहेकोमा नेपालको छनोट समितिले सुनगाभा छनोट गरेपछि यसले देशको प्रतिनिधित्व गर्न नसक्ने भन्दै विवाद पनि भएको थियो ।

पञ्चायत

शिवम अधिकारी निर्देशित चलचित्र पञ्चायत २०३० को दशकको नेपालको परिवेशलाई समेटेर निर्माण गरिएको फिल्म हो । त्यस समयमा किशोरीको यौन मनोविज्ञान, छाउपडी प्रथा र युवतीमाथि हुने हिंसामा आधारित छ । ९१औँ ओस्कर अवार्डका लागि नेपालबाट छनोट गरेर यो फिल्मलाई पठाइएको थियो ।