शीर्षकहरू

विवादबीचमा एनआरएनएले स्थापना दिवस दुई समूहले छुट्टाछुट्टै मनाउने

विवादबीचमा एनआरएनएले स्थापना दिवस दुई समूहले छुट्टाछुट्टै मनाउने

काठमाडौं । आन्तरिक विवादका बीचमा गैरआवासीय  नेपाली संघ (एनआरएनए)ले संस्थाको स्थापना दिवस दुई समूहमा मनाउने भएको छ । डा बद्री केसी नेतृत्वको एनआरएनए र आरके शर्मा नेतृत्वको एनआरएनएले शुक्रबार छुट्टाछुट्टै कार्यक्रम गरेर एनआरएनए डे बनाउन लागेको हो । 

एनआरएनए डेको अवसरमा केसी पक्षले शुक्रवार बिहान स्वयम्भू नाथ र पशुपति नाथमा पूजा गर्ने कार्यक्रमको आयोजना गरेको छ । भने शर्मा पक्षले भर्चुअल माध्यममार्फत एनआरएनए डे मनाउन लागेको छ ।  

समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा फैलिएको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २१ वर्ष पूरा गरेर नव अध्याय सुरु गरेको छ ।  

विश्वभर रहेका नेपालीहरुलाई एकैसुत्रमा बाँध्ने उद्देश्यले स्थापना भएको यस संस्थाले परिवर्तित समय र सन्दर्भमा आफूलाई पनि परिष्कृत गर्दै लैजाने चुनौती स्वीकार्दै आफूलाई मातृभूमि नेपालको इमानदार साझेदारको रुपमा आफूलाई उभ्याउन सक्षम भएको छ । आफ्नो स्थापनाको २१ औँ वर्षगाँठ मनाइरहँदा ८७ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एकबद्ध गर्न संघ सफल भएको छ ।

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २१ औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी एनआरएनएले दावी गरेको छ । गैरआवासीय नेपाली संघ स्थापनादेखि नै मुख्य रुपमा उठान गरिएका माग तथा मुद्दाहरुमध्ये गैरआवासीय नेपाली नागरिकता प्राप्ति पछि त्यसको कार्यान्वयनका लागि विभिन्न पहल भएका छन् । गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र वितरणको कार्य अहिले अधिकांश जिल्ला प्रशासन कार्यालयहरुबाट सहज रुपमा भइरहेको छ ।

वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा कोष योजना, लगानी प्रवद्र्धन, विदेशमा बस्ने नेपालीको मताधिकारको अधिकार र धितोपत्रमा विदेशबाटै कारोबार गर्ने प्रक्रियाको विषयमा निरन्तर छलफल गरिएको छ भने  शिक्षा तथा स्वास्थ्य, कला साहित्य तथा पर्यटन, उद्योग तथा सञ्चार, उर्जा लगायत खेलकुद, युवा तथा महिला सशक्तिकरणका लागि महत्वपूर्ण कार्यहरु भएका छन् ।  संघका मेघा प्रोजेक्टहरुको प्रगति उल्लेख्य छ ।