शीर्षकहरू

इजरायली आक्रमणको धम्कीबीच इरानका शीर्ष कूटनीतिज्ञ कतारमा

इजरायली आक्रमणको धम्कीबीच इरानका शीर्ष कूटनीतिज्ञ कतारमा

दोहा । इरानका विदेशमन्त्री अब्बास अराघचीले बिहीबार दोहामा आफ्ना कतारी समकक्षीसँग भेटवार्ता गर्नुभएको उहाँका प्रवक्ताले बताएका छन् । यो भेटवार्ता इजरायलले गत साता क्षेप्यास्त्र आक्रमणको बदला लिने चेतावनी दिएपछि भएको हो । 

कतारले गाजा युद्धविराम गराउने प्रयासमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ र लेबनानमा युद्धविराम गर्न आग्रह गरेको छ । लेबनानमा इजरायलले गत महिनादेखि इरान समर्थित हिजबुल्लाहका गढहरूमा बमबारी तीव्र पारेको छ । 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सामाजिक सञ्जाल एक्समा यस क्षेत्रमा जारी द्वन्द्वबारे अराघची र उहाँका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी बीच ‘महत्त्वपूर्ण परामर्श’ भएको बताउनुभयो । थानी कतारका प्रधानमन्त्रीसमेत हुन । 

वार्तापछि उनले भने, “गाजामा नरसंहार र लेबनानमाथिको आक्रमण रोकेर हाम्रो क्षेत्रलाई थोपरिएको विपत्तिबाट जोगाउन सबै राज्यले आफ्नो प्रयास अधिकतम बनाउनु जिम्मेबारी कार्य हो ।”

वार्ताको संवेदनशीलताका कारण नाम नखुलाई दिइएको जानकारी अनुसार अराघचीले गाजा, लेबनान र क्षेत्रीय तनाव कम गर्ने प्रयासबारे कतारी अधिकारीहरूसँग बैठक गर्ने अपेक्षा गरिएको थियो ।

उनको भ्रमण इजरायलले बुधबार गत साताको तेहरानको व्यापक क्षेप्यास्त्र आक्रमणको बदला लिने धम्की दिएपछि भएको छ । इजरायलको उक्त धम्कीले यस क्षेत्रमा व्यापक युद्धको आशङ्का बढाएको छ । इजरायलका रक्षामन्त्री योभ ग्यालेन्टले इरानविरुद्ध जवाफी कारवाही ‘घातक, सटीक र आश्चर्यजनक’ हुने चेतावनी दिएका थिए । 

बुधबार अराघचीले साउदी अरबमा वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान र आफ्ना साउदी समकक्षी राजकुमार फैसल बिन फरहानसँग भेट गरेका थिए ।     इरानले वार्ताहरू इजरायली आक्रमणहरू अन्तर्गत प्यालेस्टिनी र लेबनानीहरूका लागि ‘राम्रो अवस्था’ प्रदान गर्ने उद्देश्यले गरिएको बताएको छ ।