शीर्षकहरू

दशैंमा स्वस्थकर मासु कति र कसरी खाने ?

दशैंमा स्वस्थकर मासु कति र कसरी खाने ?

  • डा. केदार कार्की  

एक दृष्टिले दशैं खानपिनको पनि चाड हो । दशैंमा अधिकांश नेपालीको घरमा मासुका विभिन्न परिकार बनेका हुन्छन । तर, ती परिकार स्वास्थ्यको लागि कत्तिको हितकारी छन भन्ने ख्याल राख्नु अत्यन्त आवश्यक छ । चिल्लो र कोलस्ट्रोल बढी भएको, भुटेको, तारेको मासुले मुटुरोग लाग्न सक्ने र मुटुरोग लागिसकेकालाई अझै समस्यामा पार्न सक्ने भएकाले यसबाट टाढा रहनु आवश्यक छ । 

नेपालीहरूको घरआँगनमा यतिबेला दशैं शुरू भइसकेको छ । यस पर्वमा माछा मासुको धेरै खपत हुने गरेको छ । दशैंमा हजारौं कुखुरा, हाँस, राँगा र बोकाको बलि दिने वा घरघरमा काटेर खाने र खुवाउने चलन छ । दशैंमा बलि नदिने मांसाहारी मानिसले पनि पसलबाट मासु ल्याएर खाने गरेका छन् । मध्यम र उपल्लो वर्गका मानिस च्याङ्ग्राको मासु नखाएसम्म दशैंमा मनोरञ्जन लिएको मान्दैनन् । 

हिन्दु नेपालीहरुको महान पर्व दशैंमा विशेष गरी चिल्लो भएका खानेकुरा तथा मासुका विभिन्न परिकार खाने चलन छ । जसले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न र ताजा मासु खान आवश्यक हुन्छ ।
गच्छे अनुसार मिठो मसिनो खाएर दशैं मनाउने नेपालीको परम्परै हो । परम्परा अवश्य पनि धानिँदैछ यसपटक पनि । त्यसो त, अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिंदैन । नेपालीको महान चाड दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋण गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् । अन्य समय त छदै छ तर चाडबाडमा मासु अत्यधिक खाने प्रचलन नयां भने होइन ।

दशैंमा दैनिकजसो मासुका परिकार पाक्ने गर्छन । तर मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा हामी खासै सचेत छैनौं । प्रायस्ले मासु खाए पुग्यो भन्ने मान्यता राख्ने गरेको पाइन्छ । गलत तरीकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यानै जान सक्ने  हुन सक्छ  । मासुमा १४ प्रतिशतदेखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ भने यसमा जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्त्वहरू पनि पाइन्छन् । शरीरका लागि यी अति आवश्यक तत्त्वहरू हुन । नेपालीमा मासु खाने संस्कृति विकसित भए पनि खानपानको तरीका भने सन्तुलित भई सकेको छैन। 

सन्तुलित भोजनका लागि मासु अनिवार्य जस्तै मानिन्छ । तर, सही प्रयोग नगरेमा खण्डमा यसबाट प्राप्त हुने तत्त्वहरू पाउन सकिँदैन भने यसले स्वास्थ्यमा ठूलै असर समेत गर्न सक्छ । विभिन्न अध्ययन–अनुसन्धानले दैनिक धेरै मात्रामा मासु खानाले स्वास्थ्यमा प्रतिकूल असर गर्ने देखाएका छन् । 

चाडवाडमा मासु खानै नहुने भन्ने होइन, तर कस्तो मासु खाने, कति र कसरी खाने, भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । रातो भन्दा सेतो मासु खान उपयुक्त हुन्छ  । रातो मासु खानै हुँदैन भन्ने होइन तर, मात्रा मिलाएर खान जान्नुपर्ने हुन्छ । स्वस्थ मासुका लागि सबैभन्दा पहिले मासु प्रयोग गर्ने पशुपन्छी नै स्वस्थ हुन जरुरी हुन्छ ।

दशैंका लागि खसी र बोका छनोट गर्ने कुरामा ध्यान दिन सके मासुबाट सर्ने रोगबाट बच्न तथा स्वस्थ मासु प्राप्त गर्न सकिन्छ । दशैंका लागि बजारमा ल्याइने खसी, बोका, राँगा, च्याङ्ग्रामा पशु सेवा विभागले स्वास्थ्य परीक्षण गरी विभिन्न रङले मार्किङ गरेका पशु मात्रै खरीद गर्नु उचित हुन्छ। हेर्दै अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएको, फनफनी घुमिरहने खसीबोका किन्नू हुदैन  । 

केही रकम जोगाउने नाममा रोगी पशु किन्नु भनेको रोग नै किन्नु सरह हुने हो  । दशैंमा काठमाडौं भित्रिने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रङ दलिदिने गरिएको छ । सिङमा हरियो रङ पोतिएका खसीबोका वा च्याङ्ग्रा स्वस्थ हुन भने रातो रङ दलिएका अस्वस्थ हुन भन्ने संकेत हो ।

मासुु छिट्टै सड्ने खाद्यवस्तु हो । त्यसैले हलुका गुलाबी, हरियो वा प्याजी रङको भए त्यो खान अयोग्य भइसकेको अर्थात सड्न शुरू गरेको भन्ने बुझ्न सकिन्छ । मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, दुर्गन्ध आउनु हुँदैन । सफा  फ्रिजमा अलग–अलग गरी छोपेर राखेको मासु मात्रै खरीद गर्नुपर्दछ । मासु काट्दा र समाउँदा तन्के जस्तो लाग्छ भने त्यस्तो मासु खरीद गर्नु हुँदैन । साथै मासु पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काट्नेको तरीका, तराजु सफा छ कि छैन भन्नेमा पनि ध्यान दिनुपर्छ ।

फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको, बासी तथा खुला स्थानमा राखेको, काँचो मासुको परिकार खानु राम्रो मानिँदैन । मासु राम्ररी पखालिएको हुनुपर्छ । पखालिएको मासु पकाउँदा राम्ररी पाकेको हुनुपर्छ । मासुमा मानिसले धेरै थरीका मसला र धेरै चिल्लो पदार्थ राखेर पकाउने गर्छन । तर मसला र चिल्लो दुवै कम भएको मासु खानु स्वास्थ्यका लागि लाभदायी हुने चिकित्सकहरू बताउँछन् । सकेसम्म बोसो र छालारहित मासु खानुपर्छ । घरमा काटेर मासु तयार पार्दै हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनैपर्छ ।
मासुलाई राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा हुनसक्छ । त्यसकारण दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक हुन्छ ।

नेपालका मासुपसलमा हुने गरेको लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको छ । फोहोर वधशाला, मासुको तयारी तथा खानपानमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लू’ तथा सरुवा रोग सर्ने माध्यम हुन सक्ने खतरा हुन्छ । त्यसैले मासु फ्रिजमा माइनस डिग्रीमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको खान उपयूक्त हुन्छ  ।मानिसहरु पनि दसैं नै हो भनेर जथाभावी मासु किन्ने र अध्याधिक मात्रामा खाने गर्दछन । यसरी मासु खानु नितान्त गलत हो ।

मासु पकाउने तरिकाले पनि मासु स्वस्थकर वा अस्वस्थकर बन्छ। पोलेर खाएको मासु कदापि हितकर हुँदैन। अति धेरै मसालेदार, अति धेरै भुटिएको, पटक पटक तताइएको वा पाकेको मासुलाई पटक–पटक पकाएर खाँदा स्वाद त आउला तर शरीरलाई बेफाइदा गर्दछ। चाडपर्वमा भोजन सन्तुलन मिलाएर खानुपर्छ । बोसो र छालारहित मासु वयस्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ। सन्तुलित भोजन भनेको दशैंमा मासुसँगै सागपात, फलफूल र रेसादार खानेकुरा खानु वुद्धिमानी हुन्छ ।  
(डा. कार्की वरिष्ठ पशु चिकित्सक हुन् ।)