शीर्षकहरू

राष्ट्र बैंकद्वारा कर्जा निर्देशिका संशोधन, शेयरधनीसम्बन्धी कर्जा परिमार्जन

राष्ट्र बैंकद्वारा कर्जा निर्देशिका संशोधन, शेयरधनीसम्बन्धी कर्जा परिमार्जन


काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा सम्बन्धी निर्देशिका परिवर्तन गरेको छ । राष्ट्र बैंक शेयर धितोमा कर्जा, शेयरधनीको कर्जामा अधिकार तथा सुन चाँदी कर्जासम्बन्धी निर्देशिका परिमार्जन गरेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० लाई संशोधन गर्दै शेयर धितो कर्जामा ऋणीले राखेको धितो बापतको सेयरको मूल्य घटेमा उक्त शेयर नै लिलाम (बिक्री) गरेर कर्जा असुलउपर गर्न निर्देशन गरेको हो । 

इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा शेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ’ बैंकद्धारा जारी निर्देशनमा भनिएको छ । 

त्यस्तै, बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी शेयर धारण गर्ने लगानीकर्ता, फर्म वा कम्पनीले पनि सोही बैंक तथा वित्तिय संस्थाबाट ऋण नपाउने व्यवस्था परिमार्जन भएको छ ।

यस्तै, ०।५ प्रतिशत संस्थापक शेयर रहेको शेयरधनीले पनि सोही बैंकबाट कर्जा लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई जारी गरेको एकिकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी शेयर लिएका संस्थापक समूहका शेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन,’ संशोधित निर्देशनमा भनिएको छ । यसअघि संस्थापक शेयरको हिस्सा तोकिएको थिएन ।

त्यस्तै, सुनचाँँदी धितो राख्दा अब ५० लाख रुपैयाँभन्दाबढी कर्जा नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशनको बुँदा नम्बर ५ मा थप व्यवस्था गर्दै केन्द्रीय बैंकले सुन धितो कर्जाको एक ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन । a