शीर्षकहरू

दसैंमा घुम्न जाने सोचमा हुनुहन्छ ? यी हुन सक्छन् उत्कृष्ट गन्तब्य स्थल

दसैंमा घुम्न जाने सोचमा हुनुहन्छ ? यी हुन सक्छन् उत्कृष्ट गन्तब्य स्थल

काठमाडौं । नेपाली हिन्दु धर्मालम्वीहरुको महान चाड नजिकिदै छ । दसैं, तिहार र छट पर्वको आफनै महत्व छन् । विशेष गरी चाडपर्वमा हामी परिवारसँगको भेटघाट, पुजा पाठ, खानपीन, टिका र आर्शिबाद ग्रहण गर्छौ । तर, केही समय अघिदेखि नेपालीहरुको चाडपर्व मनाउने शैलीमा परिवर्तन भएको छ । दसैं, तिहार र छट पर्वमा लामो छुट्टी हुने हुँदा मानिसहरु आजकल परिवारसँग घुम्न मन पराउन थालेका छन् ।

विदेशबाट चाडपर्व मनाउनका लागि नै स्वदेश फर्किएका व्यक्ति छुट्टीको समयमा परिवारसँग नै घुम्न मन पराउन थालेका छन् । त्यस्तै, यतिबेला कर्मचारी र विद्यालयहरुले लामो छुट्टी दिने हुँदा समयको सदुपयोग गर्दे घुम्न थालेका छन् । 

तर, घुम्न अघि आफनो समय, बचत र शारिरीक अवस्थालाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सोही अनुसार घुम्ने ठाउँको चयन गर्नुपर्छ । घुम्न निस्कनु अघि गन्तब्यको बारेमा अध्ययन गरी निस्कनु उचित हुन्छ । यदि तपाईं यो अवधिमा घुम्न चाहनु हुन्छ भने निम्न गन्तब्य तपाईंको लागि उपयुक्त हुन सक्छन् । 

पोखरा : पोखरालाई धेरैले स्वर्गसँग दाज्ने गरेका छन् । पोखराको प्राकृतिक सुन्दरताले जो कसैको मन पनि सजिलै लोभिन्छ । दसैं विदामा घुम्नलायक स्थानमध्येमा पोखरा सबैभन्दा उत्कृष्ट बन्न सक्छ । यदि तपाईं हिड्न सक्नुहुन्न र गाडीमा नै यात्रा गरी घुम्न चाहनु हुन्छ भने पोखरा सबैभन्दा उत्कृष्ट गन्तब्य हो । परिवार सहित घुम्नको लागि झनै सहज शहर हो । यो सबैखाले पर्यटकका लागि सहज र आकर्षक गन्तब्य हो । यसलाई एउटा घुमघामको पूर्ण प्याकेज मान्न सकिन्छ ।

पोखरामा तपाईं आफ्नो बजेटअनुसार पाँच तारे होटल वा सस्तो लजमा बसेर घुमघाम गर्न सक्नुहुन्छ । सफा र शान्त वातावरण पोखराको विशेषता हो । नेपालको कुनै पनि स्थानबाट सार्वजनिक सवारी साधन वा आफनै साधनबाट पनि पोखरा सजिलै पुग्न सकिन्छ । नेपालका विभिन्न स्थानबाट पोखराको लागि सिधै हवाई उडानको पनि व्यवस्था छ । 

पोखरा पुगेपछि सहर घुम्नका लागि लोकल बस, माइक्रो र भाडामा मोटरसाइकल, साइकलको पनि व्यवस्था छ । पोखराबाट लामो वा छोटो दुरीको ट्रेकिङ्ग पनि जान सकिन्छ । 
सुन्दर हिमालका दृश्य, फेवा ताल, बेगनाश ताल, रुपा ताल यहाँका मुख्य आकर्षण हुन् । त्यस्तै, सारङकोट, धम्पुस, शान्ति–स्तुपा, डेभिस फल पनि घुम्नै पर्ने ठाउँ हुन् । त्यस्तै, पोखरामा प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ गर्न सकिन्छ । 

 बर्दिया : परिवारसँगै घुम्नको लागि बर्दिया पनि उत्कृष्ट गन्तब्य हुन सक्छ । बर्दिया पुग्नका लागि नेपालका विभिन्न स्थानबाट सहजै सवारी साधन पाइन्छ । यदि तपार्इं पूर्वबाट बर्दिया जाँदै हुनुहुन्छ भने एक रात लुम्बिनीमा बिताउन सक्नुहुन्छ । नत्र सिधै बर्दिया जाँदा पनि हुन्छ । पारिवारिक भ्रमणका लागि यो उपयुक्त गन्तब्य पनि हो ।

बर्दियामा होमस्टेमा पनि बस्न सकिन्छ । अन्यथा होटलहरुको पनि राम्रो व्यवस्था छ । तर, यहाँको थारु समुदायलाई बुझ्नको लागि भने होमस्टे उचित रोजाई हुनेछ । जताततै हरियाली, न जाडो–न गर्मी, सन्तुलित मौसम । तराईको फाँटमा धान जुलेको, हरियाली जंगल यी सबै अनुभव एकै यात्रामा प्राप्त हुनेछ । तपाईंको आफ्नै सवारी साधन छैन भने पनि पर्याप्त सार्वजनिक यातायातको सुविधाका कारण यो गन्तब्य आम नेपाली पर्यटकका लागि उपयुक्त हुन्छ ।

बर्दिया पुगेपछि चिसापानी पुगेर कर्णालीको आकर्षक पुल अवलोकन गर्न सकिन्छ ।  निकुन्ज भित्र जंगल सफारीमा समेत रमाउन सक्ने सुविधा छ । 

इलाम : परिवारसँगै सहज यात्रा गरी घुम्न सकिने अर्को गन्तब्य भनेको इलाम पनि हो । इलाम जादाँ पूर्वी नेपालको धरान–धनकुटा–भेँडेटार हुँदै ताप्लेजुङसम्मको यात्राको योजना पनि बनाउन सकिन्छ । 

तर, इलामसम्म नै पुग्ने योजना हो भने विराटनगर वा भद्रपुरसम्म हवाई उडानबाट पनि पुग्न सकिन्छ । त्यसपछि लोकल बसको यात्रा गर्नुपर्ने हुन्छ । इलामसँगै जोडिएको अर्को घुम्न लायक भनेको पशुपतिनगर पनि हो । इलामको चियाबगान र हुस्सु लाग्ने चिसो मौसमले तपाईंलाई स्वार्गिय आनन्द दिलाउनेछ । 

सौराहा : नेपाल पर्यटकीय गन्तव्यमध्ये सौराह अर्को मुख्य गन्तब्य हो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनमा विश्वमै चर्चित छ । यहाँको प्रमुख आकर्षण भनेको हात्तीमार्फत जंगल सफारी गर्नु हो । हात्ती तथा जीप सफारी गर्दै बाघ, गैंडा र घडियाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडालगायतका जनावर देखिन्छन् । यसको अलवा यहाँ थारू संस्कृतिसमेत अवलोकन गर्न सकिन्छ ।

कालिञ्चोक : काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ दोलखाको कालिञ्चोक हो ।  प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन् । कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ । चिसो मौसममा यस क्षेत्रमा हिउँ पर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागि समेत जाने गर्छन् ।

काठमाडौंदेखि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्म १७ किलोमिटर कच्ची बाटो छिचोल्न भाडाको जिप पाइन्छ । हिउँ परेको बेला भने जिपमा जान गाह्रो हुन्छ । कुरीबाट एक घण्टाको ठाडो उकालो हिँडेपछि समुद्री सतहदेखि तीन हजार ८ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोक भगवती मन्दिर पुगिन्छ ।

मुस्ताङः आन्तरिक पर्यटकहरुले जीवनमा एकचोटि घुम्नैपर्ने ठाउँको सूचीमा मुस्ताङ पनि पर्छ । मुस्ताङ यहाँको भौगोलिक बनावट मात्रै नभएर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथका कारण पनि चर्चित छ । 

केही वर्षदेखि मुस्ताङका लागि सहज सवारी साधनको व्यवस्था छ । काठमाडौंदेखि नै निजी सवारी साधनमा मुस्ताङसम्म पुग्न सकिन्छ । सार्वजनिक सवारी साधनमा जाने हो भने पनि काठमाडौ देखि सिधै बेनी पुग्न सकिन्छ । बेनीबाट ६/७ घण्टाको यात्रा गरी मुस्ताङ पुग्न सकिन्छ । काठमाडौ बाहेकका स्थानबाट जादै हुनुहुन्छ भने पनि पोखरामा एक रात बस्न सक्नुहुन्छ । पोखराबाट ट्याक्सी, जीप वा बसबाट बेनी पुग्न सकिन्छ । ट्याक्सीले साढे दुई घण्टामा बेनी पुराउँछ  । बेनीबाट सिधै मुस्ताङ पुग्न सकिन्छ । 

मुस्ताङ पुगेपछि समय भएमा माथिल्लो मुस्ताङसम्म पनि जान सकिन्छ । माथिल्लो मुस्ताङको लागि पनि यातायातको सुविधा छ । यो मौसममा खासगरी माथिल्लो मुस्ताङ घुम्न लायक ठाउँ हो । जोमसोमबाट एक दिनको जिप यात्रामा पुग्न सकिने (हिँड्दा तीन दिन) उपल्लो मुस्ताङमा यहाँको फरक जीवनशैलीले लोभ्याउँछ । मुस्ताङ क्षेत्रमा कागबेनी, नौतले गुफा, थकाली संस्कृति, मनमोहक प्राकृतिक दृश्य र कोरला नाका प्रख्यात छन् ।