काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८०\ ०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरे ।
सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको बताए । उनले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरे ।
यसैगरी आजै राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पनि पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरिन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले धेरै प्रयासका बावजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिएपनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताए । “तर, जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।