शीर्षकहरू

श्रमिकको जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पाउनु पर्छ : अर्थमन्त्री

श्रमिकको जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पाउनु पर्छ : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रमिकहरूले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पाउनु पर्ने बताएका छन् । मंगलबार अन्तराष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय काउन्सिलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले श्रमिकलाई सम्मानजनक पारिश्रमिक प्रदान गर्न सरकारले समय सापेक्ष न्यूनतम् पारिश्रमिकमा परिमार्जन गर्दै यसलाई समय अनुकूल समायोजन गर्ने नीति समेत कार्यान्वयन गर्दै आएको बताए । 

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले श्रमिकहरूले भोग्नु परेको समस्याको बारेमा राम्ररी परिचित भएको बताए । श्रमिकको हत हितको रक्षा गर्दै देशमा औद्योगिक वातावरण तयार गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार दृढ रहेको समेत बताए ।  
त्यस्तै, मन्त्री पौडेलले अहिले नेपाली श्रमिकलाई प्रभावकारी सामाजिक सुरक्षाको आवश्यकता भएको बताए । ‘प्रभावकारी सामाजिक सुरक्षाले नै श्रमिकको सम्मानपूर्ण जीवन र सुरक्षित जीवन सुनिश्चित गर्न सक्छ भन्ने मेरो ठम्याई हो । सोही आवश्यकतालाई मनन गर्दै हाम्रो सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा ल्याएको हो,’ उनले भने  । यो श्रमिकको हितको लागि एक कोशेढुंगा बन्न पुगेको छ । यसलाई विस्तार गर्दै थप प्रभावकारी बनाउनु आजको आवश्यकता भएको उनले बताए  । 


श्रमिकका समस्याहरू कुनै एक मुलुकको मात्र नभएर विश्वव्यापी साझा समस्याका रुपमा रहेका मन्त्री पौडेलले बताए । ‘सामूहिक प्रयासबाट मात्रै त्यस्ता समस्या समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ । एसिया प्यासिफिक क्षेत्रमा श्रमिकले भोगेका समस्याहरूमा झन् बढी समानता छन् । यो क्षेत्रीय संगठनले यस क्षेत्रमा रहेका श्रमिकहरूको समस्या समाधानमा यस मञ्चले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्न चाहन्छु,’ उनले भने । 

नेपालको संविधानले प्रत्येक श्रमिकलाई कानुन बमोजिम टे«ड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामुदायिक सौदाबाजी गर्न पाउने गरी मौलिक हकमा प्रबन्ध गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यास र सामाजिक न्याय, सामाजिक सुरक्षा हकलाई पनि गरेको छ । त्यसैले सरकारले सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै श्रम शक्ति देशको आर्थिक सामाजिक शक्तिको रुपमा आत्मसाथ गरेको मन्त्री पौडेलले बताए ।