शीर्षकहरू

एसजेबीएनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्‍यो एक करोड सहयोग

एसजेबीएनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्‍यो एक करोड सहयोग

काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेबीएन) को स्वामित्वमा रहेका एसजेबीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । 

एसजेबीएनले अविरल वर्षका कारण बाढीपहिरो र डुबानमा परेकाहरूलाई राहत उपलब्ध गराउन उक्त रकम सहयोग गरेको हो । कम्पनीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमै पुगेर चेक हस्तान्तरण गरेको छ । 

एसजेबीएनका प्रमुख प्रशासकीय अधिकृत (सीईओ)  प्रशान्त शर्मा, प्रमुख वित्तीय अधिकृत ओडी चौधरी, उपमहाप्रबन्धक गौरव सुद र कम्पनी सचिव सुजित कुमार झाले प्रधानमन्त्रीलाई भेटेर उक्त रकमको चेक  हस्तान्तरण गरेका थिए ।

अविरल वर्षाले गर्दा देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षतिको विषयलाई मध्यनजर गर्दै राहत स्वरुप सो रकम सरकारलाई उपलब्ध गराएको एसजेबीएनका सचिव सुजित कुमार झाले बताए । 

‘नेपालमा गत सातादेखि परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ, यस विनाशलाई कम गर्न यो रकम कम्पनी मार्फत् दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हौ,’ उनले भने । 

एसजेबीएनले संखुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । तीव्र गतिमा निर्माण भइरहेको अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगी सकेको छ । झाका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७५ प्रतिशत सकिएको छ । कम्पनीले सो आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको छ । यस्तै, एसजेबीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।