शीर्षकहरू

राष्ट्रपति समक्ष मुस्लिम आयोग र थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपति समक्ष मुस्लिम आयोग र थारु आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोग र थारु आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरे । 

सो अवसरमा राष्ट्रपति पौडेलले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति, समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रुपान्तरण सम्बन्धी नीति रहेको सन्दर्भमा सोहीबमोजिम गठित मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताए । 

उनले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारवाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई सम्वोधन गर्ने विषयमा सरकारले ध्यान दिने विश्वास व्यक्त गरे ।

यसैगरी  थारु आयोगका अध्यक्ष   विष्णुप्रसाद चौधरीले प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरे । 

सो अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताए। थारू समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौं देखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार रहेको उनको भनाइ थियो । “आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपी, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ”, उनले भने ।