शीर्षकहरू

लेबनान र इजरायलमा रहेका नेपालीको अवस्थाबारे ‘अपडेट’ रहन दूतावासलाई निर्देशन

लेबनान र इजरायलमा रहेका नेपालीको अवस्थाबारे ‘अपडेट’ रहन दूतावासलाई निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावासहरुलाई निर्देशन दिएकी छन् ।

ती देशमा अवस्थित नेपाली राजदूतहरुसँग आज मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन् । सो बैठकमा मन्त्री डा राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले त्यहाँ रेहका नेपाली र उनीहरूको परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी थिइन् ।  

मन्त्री डा राणाले भनिन्, “कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरुको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।”

मन्त्री डा राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका ‘हेल्पडेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी थिइन् । इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए ।

त्यहाँ हाल करिब एक हजार दुई सय नेपाली रहेका अनुमान गरिएको र तीमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको र उनीहरु पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको उनले बताएका थिए ।

हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी जानकारी नगरेको तर नेपालमा रहेका आफन्तहरु बढी चिन्तित रहेको पनि उनको भनाइ थियो । इजरायलका लागि नेपाली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहेको बताए ।

सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए ।