शीर्षकहरू

५ दिनमा सडक मार्ग हुँदै २ लाख ६० हजारले छाडे काठमाडौँ

५ दिनमा सडक मार्ग हुँदै २ लाख ६० हजारले छाडे काठमाडौँ

काठमाडौं । दशैँ-तिहार मनाउन घर फर्किनेको लस्कर लागेसँगै काठमाडौँ सुनसान बन्न थालेको छ । सडकमा सवारीको चाप घटेको छ भने भित्री बाटोमा पनि यात्रुहरू घटेका छन् ।

गत असोज ११ र १२ गते अविरल वर्षाका कारण ठाउँ-ठाउँमा आएको पहिरोका कारण सडक अवरुद्ध भएपछि दशैँ मनाउन जाने यात्रु अनिश्चित बने पनि सडक खुल्दै जाँदा फर्किनेको भिड बढेको छ । असोज १४ गते सोमबारदेखि शनिबारसम्म २ लाख ६० हजारले सडक मार्ग हुँदै काठमाडौँ छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले जानकारी दिए । आइतबारको तथ्यांक भने आउन बाँकी रहेको उनको भनाइ छ ।

यस अवधिमा ७ हजार १८ जना मात्रै काठमाडौँ भित्रिएको उनले बताए ।

हाल पूर्व जाने बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएकाले थानकोट नाकामा सवारी चाप बढेको छ ।  प्रहरीका अनुसार बीपी राजमार्गसँगै हाल भीमफेदी-कुलेखानी-फापेल-काठमाडौँ, सिस्नेरी-दक्षिणकाली, बाह्रबिसे-तातोपानी, कान्ति लोकपथ, रामेछाप-सिन्धुली र मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध छन् ।