शीर्षकहरू

ब्रोकरले आफ्नै टीएमएस प्रयोगमा ल्याउने, आजदेखि सेक्युर्डले प्रयोग गर्‍यो आफ्नै टीएमएस

ब्रोकरले आफ्नै टीएमएस प्रयोगमा ल्याउने, आजदेखि सेक्युर्डले प्रयोग गर्‍यो आफ्नै टीएमएस

काठमाडौं । अब देखि ब्रोकर कम्पनीहरूले आफ्नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) सञ्चालनमा ल्याउने भएका छन् । ब्रोकरको सर्भिस क्षमता बढाउन र लगानीकर्तालाई थप सेवा, सुविधा प्रदान गर्न ब्रोकर कम्पनीहरूले आफ्नै टिएमएस सञ्चालन गर्न लागेको ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले बताए । 

ब्रोकर कम्पनीहरूले हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रदान गरेको टिएमएस सञ्चालन गरि रहेका छन् । नेप्सेले डेभलपर कम्पनी वाइको मार्फत बनेको टिएमएस ब्रोकर कम्पनीहरूलाई दिएको हो ।

नेप्सेको दिएको टिएमएसमा ब्रोकर र लगानीकर्ताको लागि आवश्यक आधारभूत सुविधा छन् । तर, ब्रोकरले आफैले यो भन्दा बढी सुविधा सहितको टिएमएस सञ्चालन गर्न सक्ने भएपछि सबैले कम्पनीले आफैले टिएमएस राख्ने योजना बनाएको उनले बताए । ‘ब्रोकरले आफ्नै टिएमएस राख्ने भन्ने कुरा धेरै पहिला नै उठेको हो । तर, त्यतिबेला नेप्सेले नै दिने भएपछि प्रक्रिया लम्बिएको हो,’ उनले भने । 

सेक्यूर्ड सेक्युरिटिजले भने आइतबार (आज) देखि नै आफ्नै टिएमएस सञ्चालन गरेको छ । कम्पनीले डिजी ट्रेड नेपालले निर्माण गरेको टिएमएस प्रयोगमा ल्याएको कम्पनीका सञ्चालक सन्तोष मैनालीले बताए । ‘हामीले ग्राहकलाई गुणस्तरीय सेवा दिन र जोखिम व्यवस्थापनका लागि आफ्नै टिएमएस सञ्चालनमा ल्याएका हौ,’ उनले भने । कम्पनी आफैले सञ्चालन गरेको टिएमएसले हालको भन्दा बढी सुविधा प्रदान गर्ने समेत उनले दाबी गरे । 

केही दिनमा नै अन्य ब्रोकरले पनि आफनै टिएमएस प्रयोगमा ल्याउने एशोसियसनमा अध्यक्ष सापकोटाले बताए । ‘सबैले एकैपटक प्रयोग गर्दा प्राविधिक कठिनाइ हुन सक्छ कि भनेर, हामीले विस्तारै एक पछि अर्को ब्रोकरले प्रयोगमा ल्याउने भएका हौ,’ उनले भने । 
 

सेक्यूर्ड प्रयोगमा ल्याएको आफ्नै टिएमएस प्रयोगकर्ताले आफ्नै डेस्कटप भर्जन, बेन र मोवाइल एपबाट कारोबार गर्न सक्नेछन् । लगानीकर्ताले शेयर विक्री गरेपछि ब्रोकरलाई कुनै अनुरोध नगरी सोही रकमले तत्काल शेयर खरिद गर्न सक्नेछन् । एउटा नामबाट लगइन गरी धेरै जनाको नामबाट कारोबार गर्न सकिनेछ । ब्रोकरसँगको लिनुपर्ने रकमको जानकारी एपबाट रियल टाइम लिन सकिनेछ । विभिन्न उपकरणको प्रयोग गरी एपबाट नै बजार र कम्पनीको विश्लेषण गर्न सकिनेछ । मल्टि पेज फिचरबाट एकै पटकमा विभिन्न काम गर्न मिल्ने, आफनो पोर्टफोलियो, बजार, सुचीकृत कम्पनी अन्य जानकारी एपबाट नै लिन सकिनेछ ।