शीर्षकहरू

बाढी पहिरोले ३२ बालबालिकाको मृत्यु

बाढी पहिरोले ३२ बालबालिकाको मृत्यु

काठमाडौं । गत साताको बाढी पहिरोले शनिबार आएको बाढी पहिरोले ३२ बालबालिका मृत्यु भएको छ । मृत्यु हुनेमध्येमा १६ बालका १३ बालिका छन् भने ३ जनाको पहिचान हुन सकेको छैन । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार बिहीबारसम्ममा २३६ जनाको मृत्यु भएको छ । जसमध्ये ९० महिला र ११४ जना पुरुष छन् । दुई जना कोरियन नागरिक र एक अमेरिकन नागरिकको पनि बाढीमा परेर मृत्यु भएको छ । १९ जना बेपत्ता भएका छन् । १६५ घाइते भएका छन् । 

तथ्यांक अनुसार बाढीले १६ हजार २४३ प्रभावित परिवार भएका छन् । ४ हजार ६६७ घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् भने ५ हजार ३१० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, १० हजार ८०६ घर परिवार विस्थापित भएका छन् । 

उद्धारका लागि  सरकारले ३० हजार ७३१ सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न स्थानमा फसेका ९१० जनाको हेलिकप्टरबाट उद्धार भएको छ । १७ हजारको सरकारले विभिन्न माध्यमबाट उद्धार गरेको छ । 

त्यस्तै, बाढीका कारण ५२० वटा खानेपानी आयोजना क्षतिग्रस्त भएका छन । जसबाट ३ अर्ब भन्दा बढीको क्षति भएको प्राधिकरणको तथ्यांक छ । ६२५ मेगावट बराबरको ११ वटा जलविद्युत आयोजना क्षति हुँदा ३ अर्ब रुपैयाँ भन्दा बढी घाटा भएको छ । ६ वटा सिँचाई आयोजना प्रभावित हुँदा १.३५ अर्बको क्षति भएको छ भने १० वटा राजमार्ग अवरुद्ध भएको छ । २५ वटा पुल पूर्ण रुपमा क्षति ग्रस्त भएका छन् भने १९ वटा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । 

त्यस्तै, प्राधिकरणका अनुसार ९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएका छन् । 

८८ हजार ४७६ हेक्टरको धानखेती नष्ट भएको छ । जसबाट ३.५ अर्बको क्षति भएको छ । ४ हजार ७६५ हेक्टरमा भएको फलफूल तथा तरकारी नष्ट भएको छ । ८५ हेक्टरमा रहेको उखु खेती नष्ट भएको छ । ४५८ हेक्टरमा रहेको माछा पोखरी नष्ट भएको छ भने २६ हजार २०५ पशु मृत्यु भएको छ । १ हजार ३०० हेक्टरमा भएको सुकुमेल नष्ट भएको छ ।