शीर्षकहरू

गृहमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण, तत्काल लाभग्राहीहरुको विवरण पठाउन निर्देशन

गृहमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण, तत्काल लाभग्राहीहरुको विवरण पठाउन निर्देशन

ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए । 

“सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको छ, सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो, खोजी तथा उद्धारको काम भइरहेको छ । बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ”, गृहमन्त्री लेखकले भने, “क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ ।” 

उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताए । गृहमन्त्री लेखकले आज बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिएका थिए । यसैक्रममा उनले पहिरोले क्षति पुर्याएको लेलेको आनन्दवन अस्पताल क्षेत्रको पनि निरीक्षण गरे । अस्पताल परिसरमा गएको पहिरोमा परी ३२ वर्षदेखि अस्पतालको रिसर्च टेक्निकल अफिसरमा कार्यरत विवेक सिंहको मृत्यु भएको थियो । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई रु दुई लाखका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराएका थिए । उनले बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइँने जानकारी गराए ।