शीर्षकहरू

बाढी पहिरोले घाइते भएकाको उपचारको सबै जिम्मा सरकारले लिने : स्वास्थ्यमन्त्री

बाढी पहिरोले घाइते भएकाको उपचारको सबै जिम्मा सरकारले लिने : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तिन नदिन स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको अवलोकन गरेका छन् । बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेपलाञ्चोकको पनौती र बेथान चोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भैरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरूले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए । 

मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाए नपाएको तथा गुणस्तरको बारेमा बिरामीसँग जानकारी लिएका छन् । 

बाढी पहिरो पीडित उपचाररत माइला तामाङले उपचार राम्रो पाइ रहेको बताए । पहिरोले परिवारका सबै सदस्य गुमाएका तमाङले सरकारले उपचारपछि जाने ठाउँ पनि खोजिदिन आग्रह गरे । 

मन्त्री पौडेलले बिरामीको उपचारका लागि धुलिखेल अस्पतालले पुर्याएको सहयोगप्रति धन्यवाद दिँदै अब प्रदूषित पानी तथा फोहोरका कारण संक्रमण फैलन सक्ने भन्दै त्यसलाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे । हामीले एउटा संकट त भोग्यौं, स्वास्थ्य कार्यालयका अधिकारीहरू तथा स्थानीय तहका प्रमुखहरुसँग मन्त्री पौडेलले भने, अब विपद्पछिको स्वास्थ्य संकट आउन नदिन सजग छौं । स्वस्थ पानी प्रयोग गर्न र अरु संक्रमण फैलन नदिन सघाउनुहोला । 


मन्त्रालयले स्वास्थ्य संकट आउन नदिन पानीको शुद्धीकरण र सरसफाइ बढाउन अनि बिरामीको सहज उपचारका लागि आवश्यक हरसम्भव उपाय अपनाउने भन्दै उनले सचेतना फैलाउने काममा तीनै तह मिलेर जान सकिए मात्र सम्भव हुने बताए ।