शीर्षकहरू

अपि पावरले कात्तिक ११ गते बाेलायाे साधारण सभा

अपि पावरले कात्तिक ११ गते बाेलायाे साधारण सभा

काठमाडाैं । अपि पावर लिमिटेडले लाभांश प्रस्ताव घटाएर २१औं वार्षिक साधारण सभा आव्हान गरेको छ । असोज १८ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले यस अघि गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । विद्युत नियमन आयोगथले स्वीकृति नदिएपछि कम्पनीले लाभांश प्रस्ताव संशोधन गर्दै ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको छ । विद्युत नियमन आयोगले असोज ६ गते कम्पनीलाई यस वर्षको लाभांश वितरणका लागि स्वीकृति दिन नमिल्ने निर्णय गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण नेपाल लेखा प्रतिवेदन माग अनुरुप तयार पारिएको र सो लेखा प्रतिवेदन मानमा कम्पनीको स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको साथै बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखांकन गरेको नियमन आयोगको ठहर दियो । जुन कार्य कम्पनी ऐन , २०६३ को दफा ५६ को उपदफा (१०) ले वर्जित गरेको भन्दै स्वीकृति दिन नमिल्ने जानकारी आयोगले दिएको थियो ।

यसअघि कम्पनीले कात्तिक १ गते २१औं वार्षिक साधारण सभा बोलाएको थियो । विद्युत नियमन आयोगको निर्देशन कुदैं सो वार्षिक साधारण सभा स्थगित गरेको कम्पनीले आइतवार सूचना जारी गर्दै साधारण सभाको मिति तय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय टुङ्ग्याउनेछ । 

यस कम्पनीको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडमा कम्तिमा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । दार्चुला पावर कम्पनीमा लगानी गरी २८ दशमलव ३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने विषयमा पनि सभाले स्वीकृति प्रदान गर्नेछ ।

यी सँगै कम्पनीको सर्वाधिक शेयर स्वामित्व रहकोे सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा भैरहेकाले उक्त लगानीलाई समेत सभाले अनमोदन गर्नेछ । सभाले एक जना महिला तथा एक जना स्वतन्त्र गरी पाँच जना सञ्चालको निर्वाचन पनि गर्नेछ ।