शीर्षकहरू

बाढीका कारण बीमा कम्पनीमा ७ अर्ब २८ करोड रुपैयाँ बराबरको दाबी पर्ने प्रारम्भिक अनुमान, कुन कम्पनीमा कति ?

बाढीका कारण बीमा कम्पनीमा ७ अर्ब २८ करोड रुपैयाँ बराबरको दाबी पर्ने प्रारम्भिक अनुमान, कुन कम्पनीमा कति ?

काठमाडौं । बाढी पहिरोको कारण बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत १६ गतेसम्मका कम्पनीहरूमा प्राप्त विवरण अनुसार २ हजार ३३७ वटा दाबी पर्न सक्ने देखिएको छ । यो १४ वटा निर्जीवन बीमा र चार वटा लघुबीमा कम्पनीको परेको तथ्यांक हो । 

कम्पनीहरूले प्राधिकरणमा बुझाएको विवरण अनुसार प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै एक अर्ब ८१ करोड रुपैयाँ बराबरको दाबी परेको छ । दि ओरियण्टल इन्स्योरेन्समा एक अर्ब ४४ करोड र हिमालयन इन्स्योरेन्समा एक अर्ब १७ करोड रुपैयाँको दाबी परेको छ । 

त्यस्तै, संख्याको आधारमा शिखर इन्स्योरेन्समा सबैभन्दा बढी ३२२ वटा दाबी परेको छ । सिद्धार्थ प्रिमियरमा ३१९, नेकोमा २२३, आइजिआईमा २४८, सगरमाथा लुम्बिनीमा २९१, हिमालयन एभरेष्टमा २१६ वटा दाबी परेको छ । 

तर, गत १६ गतेसम्म ९ वटा कम्पनीहरूमा औपचारिक रुपमा २ अर्ब ६७ करोड रुपैयाँको औपचारिक दाबी परेको तथ्यांक छ । प्राधिकरणको तथ्यांक अनुसार गत १६ गतेसम्म ७०९ वटा दाबी परेका छन् । 

प्राधिकरणको तथ्यांक अनुसार प्रारम्भिक सूचना अनुसार सम्पति बीमामा सबैभन्दा बढी दाबी परेको छ । कम्पनीहरूले ६ अर्ब ११ करोड रुपैयाँ बराबरको दाबी आउने अनुमान गरेका छन् । कम्पनीहरूमा हालसम्म २ अर्ब ३१ करोड रुपैयाँ दाबी परी सकेको छ । कम्पनीहरूले १ हजार २५८ वटा दाबी पर्ने अनुमान गरेका छन् भने हालसम्म ३३४ वटा सम्पति दाबी परेको छ । 

इन्जिनियरिङमा ७१ करोड १८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । कृषि तथा बालीमा ४३ लाख रुपैयाँ बराबरको दाबी परेको छ । पशुपन्छी तथा बीमामा एक करोड १५ लाख रुपैयाँको दाबी परेको छ । मोटर बीमा (निजी) २७ करोड ३० लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) मा १५ करोड ४५ लाख, सामुद्रिक बीमामा ९३ लाख २३ हजार र विविधमा १४ लाख रुपैयाँ बराबरको दाबी परेको छ । 

तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट दाबी पर्ने प्रारम्भिक सूचनाले देखाएको छ । सो प्रदेशबाट ६ अर्ब ९३ करोड रुपैयाँ बराबरको दाबी पर्ने तथ्यांक छ । हालसम्म बागमती प्रदेशबाट २ अर्ब ५८ करोड रुपैयाँको लिखित दाबी परी सकेको छ । १ हजार ७८८ वटा दाबी परेको प्राधिकरणले जनाएको छ । कोशीमा १६ करोड ९९ लाख, मधेशमा ७ करोड ५९ लाख, गण्डकीमा ४ करोड ६९ लाख, लुम्बिनीमा ५ करोड ७५ लाख र कर्णालीमा एक लाख रुपैयाँ बराबरको एउटा मात्रै दाबी परेको छ । 

गत असोज ११ गते देखि परेको अविरल वर्षाको कारण देशभर जनधनको क्षति भएको छ । क्षतिका कारण बीमा कम्पनीहरूमा परेको दाबीको विस्तृत विवरण छिटो भन्दा छिटो संकलन गरी सहज भुक्तानी गर्न प्राधिकरण कम्पनीहरूलाई निर्देशन दिएको छ । त्यस्तै, कम्पनीहरूलाई साप्ताहिक रुपमा प्राधिकरणमा तथ्यांक पेश गर्न प्राधिकरणले निर्देशन दिएको छ ।