शीर्षकहरू

ढुवानीसम्बन्धी सबै सेवाका लागि 'लोडबड' एप सञ्चालनमा, यस्ता छन् सुविधाहरू

ढुवानीसम्बन्धी सबै सेवाका लागि 'लोडबड' एप सञ्चालनमा, यस्ता छन् सुविधाहरू

काठमाडौं । सवारी साधनको विस्तृत जानकारी राख्नका लागि लोडबोड कम्पनीले लोडबोड एप्लिकेसन सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमबीच एप्लिकेसनको शुभारम्भ गरेको हो । 

ढुवानी व्यवस्थापनका लागि कम्पनीले एप्लिकेसन निर्माण गरेको कम्पनीका अध्यक्ष श्रीमान कार्कीले बताए । कम्पनीले दुई वर्षदेखि एप्लिकेसन निर्माण तयारी गरेको उनले बताए । कम्पनीले शुक्रबार देखि एप्लिकेसनको सफट् लन्च गरेको हो । कात्तिकदेखि भने पूर्ण रुपमा सञ्चालन गरिने कम्पनीका अध्यक्ष कार्कीले बताए । 

एप्लिकेसनबाट व्यवसायी, मालवाहक सवारीसाधन धनी, चालक, सहचालक तथा सरकारले समेत लाभ लिन सक्ने कम्पनीका संस्थापक मनिषराज उप्रेतीले बताए । ‘हामीले ढुवानी व्यवसायीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउनका लागि यो एप्लिकेसन निर्माण गरेका हौ,’ उनले भने । एप्लिकेसनबाट ढुवानी व्यवसायसँग आबद्ध व्यक्ति तथा निकायले सबै खालका सूचना प्राप्त गर्नेछन् । 

एप्लिकेसनले व्यवसायी र यातायात व्यवसायीबीच सम्पर्क स्थापित गराउने छ । ‘दुवै व्यवसायी बीच प्रत्यक्ष सम्पर्क हुँदा बीचमा एजेन्टलाई भुक्तानी गर्नुपर्ने ठूलो रकमको बचत हुनेछ । दुवै पक्षको समझदारीमा भाडा निर्धारण गर्न सकिनेछ,’ उनले भने । 

त्यस्तै, एप्लिकेसनले माल वाहक सवारी साधनले बहन गरेको लोडको पनि रेकर्ड राख्नेछ । कम्पनीले सरकारले स्थापना गरेको १८ वटा तौल पुलमा एप्लिकेसनको कनेक्सन जडान गरेको छ । त्यसैले तौल पुलमा सवारी साधनको तौल हुने बित्तिकै त्यसको रेकर्ड सवारी साधन धनीले आफ्नो मोबाइलमा हेर्न सक्ने उनले बताए । ‘कतिपय सवारी चालकले सरकारले तोके भन्दा बढी तौल बहन गर्ने तर, त्यसको रेकर्ड सवारी धनीलाई दिदैनन् । बीचको कमिशन आफैंमा खान्छन् । सवारी साधनले बढी तौल बहन गर्दा एकातिर पुल र सडकको संरचना विग्रीएको छ भने अर्कोतर्फ सवारी धनी बेखबर हुन्छन्,’ उनले भने । यो एप्लिकेसनले दुवैको समस्या समाधानले उनले दाबी गरे । 

त्यस्तै, एप्लिकेसनले सवारी साधनको तत्कालको लोकेशन पता लगाउने, सवारी साधनको ब्लु बुक, इन्स्योरेन्स, रुट पर्मिटको अवधि सकिएको पनि नोटिफिकेसन पनि दिनेछ । जसका कारण सवारी साधन अतिरिक्त जरिवानाबाट बच्न सक्नेछन् । त्यस्तै, सवारी साधनले कुनै चेक पोइन्ट छलेको छ भने पनि त्यसको नोटिफिकेशन दिनेछ ।  ट्रिप डिटेल र सवारी साधनको तत्कालको अवस्थाको बारेमा जानकारी दिन्छ ।

सवारी साधन धनी तथा सञ्चालकहरूको लागि यो एप्लिकेसन अझै लाभदायी हुने कम्पनीको दाबी छ । यसले जिपिएस उपकरणमा बिना लगानी मोबाइल जिपिएसद्धारा गाडीको स्थान पता लगाउने हुँदा सवारी धनीले यथास्थानमा बसेर आफनो  सवारी साधनको तत्कालको लोकेशन पता लगान सक्नेछन् । आफुले चाहेको अवस्थामा सवारी साधनको अपटेड लिन सक्नेछन् । 

जिपिएस प्रविधिको माध्यमबाट ओभरस्पीडको जानकारी प्राप्त गरी ड्राइभरको अवस्थाको विलेश्षण गर्न सक्नेछन । चेक पोइन्ट मार्फत गाडीको विवरण प्राप्त गरी व्यवसायको सजिलै निगरानी गर्न सकिनेछ । एप मार्फत आफनो गाडीको ट्रीप आफै व्यवस्थापन गरि प्रतिस्पर्धा बजारमा अवसरहरुको सदुपयोग गर्न सकिने कम्पनीको दाबी छ । चालकले जिपिएस ट्रयाकिङग सिस्टम बन्द गरेता पनि चेकपोइन्ट तथा तौलपुलको डाटा इन्ट्रीबाट गाडीको स्थान तथा तौलको जानकारी प्राप्त गर्न सकिन्छ । 

लोडबोड एप्लिकेसन मालवाहक सवारी साधन व्यवसायीको लागि अति नै उपयोगी एप्लिकेसन हुने नेपाल ट्रक यातायात महासंघका महासचिव राजेन्द्र विक्रम बानियाले बताए । ‘व्यवसायी र सवारी साधन धनी बीच प्रत्यक्ष सम्पर्क हुँदा दुवै पक्षलाई धेरै हुन्छ । आजको दिनमा दलालले नै दुवै पक्ष बीचको सम्पर्कको काम गरेका छन् । दुवै पक्ष बीच प्रत्यक्ष सम्पर्क नहुँदा हामीबाट दलालले कति कमिशन खाएको छ त्यो पनि थाहा छैन हामीलाई । तर, अब यो एप्लिकेसन यस्ता सबै झन्झटबाट मुक्ति दिनेछ,’ उनले भने ।

सवारी साधन धनीले त यो एप्लिकेसनले धेरै लाभ पाउने उनले बताए । ‘चालकले ट्रकमा ओभरलोड गरिदिँदा व्यवसायी धेरै मर्कामा परेका छन् । त्यो समस्यालाई पनि यसले सम्बोधन गर्ने भएको छ,’ उनले भने । 

शुक्रबार देखि शुभारम्भ भएको एप्लिकेसनका विषयमा थुप्रै व्यवसायीले सोधपुछ आएको कम्पनीले जनाएको छ । कम्पनीको नेटवर्कमा हालसम्म १४ हजार ट्रक व्यवसायी जोडिनु भएको कम्पनीले जनाएको छ । 

नेपालमा हाल करिब ५० हजार माल वाहक ट्रक भएको महासंघका महासचिव बानियाले बताए ।