शीर्षकहरू

फेरि किन रोकियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया?

फेरि किन रोकियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया?

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका तीन जना उम्मेदवारको अन्तर्वार्ता पुन: स्थगित भएको छ ।

यसअघि जानाजान अनुपस्थित भएका तीन जना उम्मेदवारहरू बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई आज अर्थमन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको थियो । तर, शुक्रबार बिहान ८ बजे बोलाइएको उक्त अन्तर्वार्तामा तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।

अन्तर्वार्तामा सिफारिस समितिका संयोजक रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी नै अनुपस्थित भएपछि अन्तर्वार्ता रोकिएको हो । अन्तर्वार्ता रोकिनुको कारणबारे अर्थमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । अर्थले अर्को सूचना जारी नभएसम्मका लागि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति रोकिएको जनाएको छ ।

'राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनु भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ,' अर्थले भनेको छ, 'बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये स‌ंक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो ।'

२० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ । समितिले कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान ऐनमा छ ।

यसअघि सर्टलिस्टमा परेका तीन जना उम्मेदवार अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । तर श्रेष्ठलाई अध्यक्ष बनाउने सेटिङ भएको भन्दै तीन उम्मेदवार अनुपस्थित भएका थिए ।

गत असार तेस्रो साता मन्त्रिपरिषद्‌ बैठकले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि सुरु गरेको थियो । पुरानो प्रक्रिया रद्द भएपछि सरकारले विवादीत धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति नयाँ समिति गठन गरेर पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको छ ।  

योजना आयोगमा उपाध्यक्षले नै यो विषय हेरिरहेकाले सोही व्यवस्थाअनुसार शिवकुमार अधिकारीको संयोजकत्वमा समिति गठन भएको हो ।