शीर्षकहरू

न्ह्यज्या खलः थिमिले ६३औँ स्थापना दिवस सम्पन्न

न्ह्यज्या खलः थिमिले ६३औँ स्थापना दिवस सम्पन्न

भक्तपुर । तत्कालिन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध अभियान चलाउने क्रममा २०१८ सालमा गठन भएको न्ह्यज्या खलः थिमिले ६३औँ स्थापना दिवसका अवसरमा आज साहित्यिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष बडा दसैंको घटस्थापनको दिन स्थापना दिवस मनाउँदै आएको भक्तपुर जिल्लाकै सबभन्दा जेठो सामाजिक संस्था खलःले आज साँझ थिमिको निगुपुखूमा साहित्यिक एवं सास्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महाबिर पुनको किताब बिक्री गरेर सङ्कलित रु दुई लाख ४८ हजार २६० नगद केन्द्रका प्रबन्धक सञ्जय झालाई हस्तान्तरण गरिएको छ ।

निरन्तर रुपमा भाषा, साहित्य, शिक्षा, सामाजिक र राजनीतिक क्षेत्रमा जनचेतना जगाउने कार्य गर्दै आएको विशेषगरी भक्तपुरका नागरिकहरुलाई यो संस्थाले सामाजिक उत्तरदायित्व बहन गराउँदै शैक्षिक जागरणमार्फत क्षेत्रगत विकासमा भूमिका निर्वाह गरेको छ । 

न्ह्यज्या खलः थिमिका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष बैकुण्ठ हरि साहु श्रेष्ठ थिए । कार्यक्रममा देशभरका नेवारहरुको साझा संस्था नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, प्रगतिवादी संगीतकार रामेश, विराट नेपालभाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्य, शहीद बैकुण्ठ हरि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायतका साहित्यकार, सङ्गीतकार, पत्रकार तथा स्थानीयको सहभागिता थियो ।