काठमाडौं । हस्तकला व्यवसायीको सम्मान र व्यवसाय विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्सपो’ सुरु भएको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा आज (असोज १७) देखि १९ गतेसम्म एक्सपो आयोजना हुनेछ ।
एक्सपोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन लगायतका स्टल राखिएका छन् । यस्तै, भक्तपुरको प्याला, राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, जैविक स्रोतबाट बनेका श्रृंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री पनि रहेका छन् ।
पश्मिना, स्टोन, माला, क्युरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु एक्सपोमा उपलब्ध हुनेछन् ।
नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक सम्बृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पुर्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ताहरु खासगरी अमेरीका, क्यानडा, युरोप, चीन, भारत लगायत अन्य देशहरुबाट आउने पनि आयोजकले जनाएको छ ।
नेपाल हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्सपोले देशबाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ । नेपाली उत्पादनलाई विश्वबजारमा सुलभ तरिकाले पुर्याउने उद्देश्यले अमेरिका, क्यानडा, बेलायत लगायतका देशमा पनि हरेक वर्ष एक्सपो हुने गरेको छ ।