शीर्षकहरू

लघुवित्तका सीईओहरु भन्छन्– ऋण तिर्दिनँ भन्दै आन्दोलन गर्नेहरूले पनि भुक्तान गर्न थाले

लघुवित्तका सीईओहरु भन्छन्– ऋण तिर्दिनँ भन्दै आन्दोलन गर्नेहरूले पनि भुक्तान गर्न थाले

विश्वका अधिकांश मुलुकले लघुवित्त सेवालाई गरिबी निवारणको माध्यमको रूपमा लिएका छन् । मूलधारका बैंक तथा वित्तीय संस्थाले समेट्न नसकेका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा प्रदान गर्दै स्वरोजगार बनाउन प्रेरित गर्ने भएकाले पनि यसको लोकप्रियता बढेको हो ।

नेपालमा पनि लघुवित्त वित्तीय संस्थाले वित्तीय सेवा विस्तार गर्न ठूलो भूमिका खेले । तर, केही समयदेखि शुरु भएको विश्व आर्थिक मन्दीले नेपालको लघुवित्त क्षेत्रलाई जोखिममा पार्यो । आर्थिक गतिविधिमा कमी आएपछि लघुवित्त संस्थाहरूले प्रवाह गरेका कर्जा असुल गर्न सकेनन् । फलस्वरुप लघुवित्तविरुद्ध चर्को सडक आन्दोलन नै भयो । लघुवित्तले उद्देश्य विपरीत काम गरेको भन्दै ऋणीहरूले ऋण नतिर्ने घोषणादेखि लघुवित्त नै खारेज हुनुपर्नेसम्मको माग राखे । 

तर, पछिल्लो समय त्यस्ता आन्दोलन सुस्ताए । गरिब तथा विपन्न वर्गको समूह बनाएर धितो तथा बिनाधितो लगानी गर्ने यस्ता वित्तीय संस्थाहरूमाथि कडाइ गरियो । संस्थाको लाभांश वितरणदेखि कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ गरेको हो । केन्द्रीय बैंकले कडाइ गरेपछि अहिले लघुवित्त संस्थाको अवस्था कस्तो छ भन्ने विषयमा हामीले केही लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग सोधेका छौँ । लघुवित्तविरुद्ध भएका सडक आन्दोलन, केन्द्रीय बैंकको कडाइ र अहिलेको कर्जाको असुलीको विषयमा केन्द्रित भएर गरिएको कुराकानीको सारः   

रामबहादुर यादव 

प्रमुख कार्यकारी अधिकृत

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड     

लघुवित्तहरूबाट लिएको पैसा तिर्दिन भनेर सडक आन्दोलनसम्म भयो । एकताका लघुवित्तहरूमा ऋण असुलीको समस्या थियो । लघुवित्तको ठूलो जोखिम भनेको बिना धितो लिएको पैसा भएकोले त्यो तिर्नुपर्दैन मिनाहा हुन्छ भन्ने अराजक प्रवृत्तिले जोखिम बढेको थियो । तर, अहिले यस्ता ग्राहकहरूको मनस्थिति बदलिएको छ । विस्तारै आम जनसमुदाय र ग्राहकहरूमा ऋण लिएपछि तिर्नुपर्छ भनेर बुझ्दै गएका छन् । हिजो सडकमा ऋण मिनाहा गर्नुपर्छ भन्दै आन्दोलन गर्नेहरू आज ऋण तिर्न आएका छन् । ऋण असुलीको अवस्था विगतको भन्दा बढेको छ ।   

nullरेशम न्यौपाने 

प्रमुख कार्यकारी अधिकृत

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड  

हिजोका दिनमा मानिसहरू लघुवित्त नाम नै सुन्न चाहँदैन थिए । लघुवित्तमा काम गर्ने कर्मचारीहरूको धरकपडमा परे । कर्मचारीहरू बाटोमा हिँडडुल नै गर्न सक्ने अवस्था थिएन । लघुवित्त विरुद्ध सडकमा आन्दोलन गर्नेहरूको जमात पनि उस्तै थियो । तर, अहिले विस्तारै त्यो अवस्थाबाट सकारात्मक बाटोमा आइपुगेका छौँ । लिएको कर्जा तिर्नेहरू बढिरहेका छन् । ऋण तिर्छौँ तर हामीलाई समय दिनुपर्छ भन्ने ग्राहक पनि हुनुहुन्छ । समस्यामै परेका ऋणीहरूलाई हामीले समय पनि थपिदिएका छौँ । व्यवसाय गर्न ऋण लिएकाहरू समस्यामा परेर व्यवसाय बन्द भएका रहेछन् भने उनीहरूलाई पुनरकर्जा दिएर त्यो व्यवसाय पुनः शुरु गर्ने वातावरण बनाइदिएका छौँ । पुनः शुरु भएको व्यवसायबाट उनीहरूले कर्जा तिरिरहेका छन् । तथापी कतिपयले व्यवसाय फेरि शुरु गरेर पनि आम्दानी गर्न सक्नु भएको छैन । यसले गर्दा ऋण असुली भएपनि नतिजा देखिएको छैन ।  

नरेन्द्र सिंह विष्ट  

प्रमुख कार्यकारी अधिकृत 

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड   

अहिले लघुवित्तहरू लक्षित अराजक गतिविधि भएको छैन । लघुवित्तहरूमा ऋण असुलीको अवस्था विस्तारै सुधार भएको छ । तथापी अझै पनि लघुवित्तको कर्जा तिर्नु पर्छ भनेर बाहाना बनाउनेहरू पनि भेटिएका छन् । कोही साँच्चै नै आर्थिक अवस्था नाजुक भएर तिर्न नसक्नेहरू पनि छन् । यसले गर्दा हामीले नियतवश र परिस्थितिवश कर्जा नतिर्नेहरूको विवरण संकलन गरेका छौँ । त्यो विवरण अनुसार हामीले परिस्थिति वस तिर्न नसक्नेहरूलाई उनीहरूको अवस्था हेरेर अगाडी बढिरहेका छौँ, उनीहरूको पुनरुत्थान गरेर भएपनि ऋण तिर्ने वातावरण बनाइरहेका छौँ । ऋणीहरूको अवस्था हेरेर त्यही अनुसार हामी अगाडी बढिरहेका छौँ । नियतवश नतिर्नेहरूलाई त्यही अनुसारको कदम चालेका छौँ । विस्तारै कर्जा असुलीमा सुधार हुँदै गएको छ, अझै सुधार हुन्छ भन्ने अपेक्षामा हामी छौँ । 

कृष्ण प्रसाद न्यौपाने

प्रमुख कार्यकारी अधिकृत 

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड  

पछिल्लो समय लघुवित्तहरूप्रति हेर्ने दृष्टिकोण फेरिएको छ । लघुवित्त खारेज गर्नु पर्छ भन्दै आन्दोलन गर्नहरु अहिले यसको आवश्यकता तथा महत्त्व बुझेर फेरि चाहिन्छ भन्न थालिसके । ऋण तिर्दिन भन्दै आन्दोलन गर्नेहरूले पनि ऋण तिर्न आइरहेका छन् । लघुवित्तहरूको ऋण धमाधम उठिरहेको छ । अहिले लघुवित्तहरू ग्राहक पहिचानमा केन्द्रित भएका छन् । उनीहरूको अवस्था बुझेर संस्थाले काम गरिरहेको छ । अप्ठ्यारोमा परेका ऋणीहरूलाई संस्थाले सहयोग पनि गरिरहेको छ । वास्तवमै समस्यामा परेका ऋणीहरुलाई तीन वर्षको म्याद थप गरिदिएका छौँ । विभिन्न कुराहरुमा सहजता प्रदान गरिरहेका छौँ ।